
आगामी फागुन २१ गते (मार्च ५, २०२६) का लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष र सुरक्षित तवरले सम्पन्न गर्न नेपाली सेना आज बुधबारदेखि मैदानमा उत्रिएको छ।
निर्वाचनको एक महिना अगावै सुरक्षा बल परिचालन गर्ने सरकारको पूर्वघोषित योजना अनुसार, सेनाले नियमित गस्ती र सुरक्षा निगरानी कार्य सुरु गरेको हो।
नेपाली सेनाको मुख्यालयका अनुसार, यसपटकको चुनावी सुरक्षाका लागि कुल ७९ हजार ७२७ सैनिक कर्मचारीहरूलाई खटाइएको छ।
एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को कार्यान्वयन गर्दै सेनाले बुधबारदेखि आफ्नो उपस्थितिलाई सशक्त बनाएको छ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले निर्वाचनको एक महिना अघि नै सेना परिचालन गर्ने आदेश(म्यान्डेट) बमोजिम फागुन २१ गते (फेब्रुअरी ५) देखि टोलीहरू मैदानमा खटिएको पुष्टि गरेका छन् ।
एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाली सेना तेस्रो सुरक्षा घेरा मा रहनेछ।
सेनाको मुख्य जिम्मेवारीहरूमा मतदान केन्द्रहरू र आसपासका क्षेत्रमा संयुक्त तथा स्वतन्त्र गस्ती गर्ने, अति विशिष्ट र विशिष्ट व्यक्तिहरूको आवास क्षेत्रको सुरक्षा र रणनीतिक रूपमा महत्वपूर्ण स्थलहरू जस्तै– कारागार, सुरक्षा निकायका मुख्यालय, बैंक र विमानस्थलहरूको सुरक्षा गर्नै रहेको छ ।
सैनिक प्रवक्ता बस्नेतका अनुसार, पहिलो चरणमा सेनाले विभिन्न स्थानमा आधार शिविर(बेस क्याम्प)हरु स्थापना गर्नेछ। जिल्ला तहमा रहेका गुल्म, गण, बाहिनी र प्रादेशिक पृतनाहरू मार्फत आवश्यक समन्वय र सहयोग परिचालन गरिनेछ।
गृह मन्त्रालयले २०८२ कात्तिक ३० गते नै एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरिसकेको थियो।
यस योजना अन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी कुल ३,३८,८९०सुरक्षाकर्मी परिचालन हुनेछन्।
जसमा नेपाली सेना: ७९,७२७,नेपाल प्रहरी: ७५,४९७, सशस्त्र प्रहरी बल: ३४,५७६, म्यादी प्रहरी १,४९,०९ र राष्ट्रिय अनुसन्धान विभाग: १,९२१ रहने छन् ।
निर्वाचन बिथोल्न खोज्ने समूहको पहिचान, उम्मेदवारको सुरक्षा, र मतपेटिका ढुवानी जस्ता संवेदनशील कार्यका लागि सुरक्षा निकायहरूले संयुक्त तालिम र अभ्यास समेत सम्पन्न गरिसकेका छन्।
यसैबीच, देशभरबाट छनोट भएका १,४९,०९० म्यादी प्रहरीले आइतबार नियुक्ति पत्र प्राप्त गरी १० दिने तालिम सुरु गरेका छन्।
प्रतिक्रिया