
सुमन आशिषित । जनवरी २०, मेरिल्याण्ड, अमेरिका
नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरको वार्षिक साधारण सभा आइतबार पार्कभिल, बाल्टिमोरस्थित संगति भवनमा सम्पन्न भएको छ। सभामा वर्षभरि सम्पन्न भएका गतिविधिहरूको कार्य प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै विधानमाथि छलफल, अनुमोदन र भावी कार्य योजनाको बाँडफाँड गरिएको थियो।
कार्यक्रमको सुरुआत चर्चका डिकन जीवन आलेको प्रार्थनाबाट गरिएको थियो भने कार्यक्रम सञ्चालन अफिस सेक्रेटरी हेमन्त तिमिल्सिनाले गर्नुभएको थियो।

मण्डलीका डिकन अर्जुन हमालले मण्डलीमा दिनप्रतिदिन नयाँ सदस्यहरूको संख्या बढ्दै गइरहेकाले अझ व्यवस्थित, चुस्तदुरुस्त र संस्थागत विधि–विधानअनुसार सञ्चालन गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै तयार पारिएको विधान प्रस्तुत गर्नुभएको थियो। सदस्यहरूलाई समूहमा विभाजन गरी विधानमाथि छलफल पश्चात् त्यसलाई अनुमोदन गरिएको थियो।
मण्डलीका विभिन्न विभागका विभागीय प्रमुख (लिडर)हरूले सन् २०२५ भरि आ–आफ्ना विभागले गरेका कार्यहरूको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरद्वारा सञ्चालित तथा विश्वव्यापी रूपमा छुट्टै छवि बनाएको HiDa (Himalayan Diaspora Academy) र INSLT को कार्य प्रतिवेदन डिकन अर्जुन हमालले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी आमा–दिदीबहिनी संगतिको प्रतिवेदन रायल मगरले, बा–आमा चौतारीको प्रतिवेदन पा. खिना बुढाथोकीले, युथ संगतिको प्रतिवेदन आकाश मगरले, क्वायरको प्रतिवेदन धिरन अछामीले, सन्डे किड्स चर्चको प्रतिवेदन पा. कल्पना श्रेष्ठले तथा आर्थिक प्रतिवेदन डिकन डेभिड चटौतले प्रस्तुत गर्नुभएको थियो।

कार्य तथा आर्थिक प्रतिवेदनसँग सम्बन्धित विभिन्न विषयमा उठेका प्रश्नहरूको जवाफ मण्डलीका पास्टर प्रा. डा. मनोज श्रेष्ठले दिनुभएको थियो। प्रश्न उठाउनेहरूमा मण्डलीका सदस्यहरू कल्याण तामाङ, दिप्सन पोखरेल र सुमन आशिषित रहनुभएको थियो।
त्यसैगरी मण्डलीका पा. राजु बुढाथोकीले सन् २०२६ को कार्य अवधिलाई प्रभावकारी बनाउने उद्देश्यले विभागहरू, विभागीय कार्य–कर्तव्य तथा विभागीय प्रमुखहरूको नाम घोषणा गर्नुभएको थियो। जसअनुसार क्वायरमा पा. राजु बुढाथोकी, INSLT/आमा–दिदीबहिनी संगतिमा डिकन अर्जुन हमाल, युथ संगति/मिडियामा अफिस सेक्रेटरी हेमन्त तिमिल्सिना, HiDa/सन्डे किड्स चर्चमा डिकन प्रकाश शाही, 3B/खेलकुदमा डिकन जीवन आले, बाबा–आमा चौतारीमा पा. मनोज श्रेष्ठ, सुसमाचार प्रचार (Evangelism) मा डिकन सूर्योदय तिम्सिना, प्रार्थना/आर्थिक (Prayer/Financial) मा डिकन रबिन रिमाल तथा भवन व्यवस्थापन र भण्डार (Building Management & Inventory) मा डिकन डेभिड चटौत चयन हुनुभएको छ।

यस वर्ष थप गरिएको मिडिया तथा सल्लाहकार समितिसम्बन्धी घोषणाअनुसार मिडिया विभागमा सुमन आशिषित, ज्ञानु राई र सागर महर्जनलाई, साउन्ड व्यवस्थापनमा इन्द्र राई र सागर महर्जनलाई चयन गरिएको छ। साथै सल्लाहकार समितिमा खुसीमान पुन, चन्द्र छन्त्याल, आशिष रम्तेल, के.बी. थापा, जित रम्तेल, एकराज तिम्सिना, ज्ञानु राई, लाल मगर, तारा गुरुङ, विष्णु राना, पा. मोहन श्रेष्ठ तथा राजेन्द्र सेन्चुरी चयन गरिएको जानकारी गराइएको थियो।
कार्यक्रमको अन्त्यमा मण्डलीका पास्टर प्रा. डा. मनोज श्रेष्ठले बाइबलको पुस्तक प्रेरित १:८ को पद —“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।”
भन्ने वचन प्रचार गर्दै, पृथ्वीको यस छेउमा आएर पनि हामी परमेश्वरका साक्षी बनिरहेका छौँ र यही उद्देश्यअनुसार मण्डलीले कार्य गरिरहेको जानकारी दिनुभयो। अन्त्यमा आशिषको प्रार्थनासहित कार्यक्रम समापन गरिएको थियो।
फोटोग्राफर : ज्ञानु राई/सागर महर्जन
प्रतिक्रिया