
अमेरिकाको भर्जिनिया राज्यमा डेमोक्र्याटकी एबिगेल स्प्यानबर्गर इतिहास कोर्दै पहिलो महिला गभर्नर बनेकी छन् । सन् १७७६ देखि अहिलेसम्म सधैँ पुरुषहरू मात्र गभर्नर बनेको यस राज्यमा शनिबार पहिलो पटक एबिगेल स्प्यानबर्गरले महिला गभर्नरको रूपमा सपथ लिएकी छिन्। हल्का वर्षा भइरहेको बेला भएको यस समारोहमा उनले राज्यको ७५ औँ गभर्नरको कार्यभार सम्हालेकी हुन्।
आफ्नो भाषणमा एबिगेलले भनिन्, “यो क्षण मेरो लागि निकै महत्त्वपूर्ण छ। म ती महिलाहरूलाई धन्यवाद दिन चाहन्छु जसले महिलालाई मत हाल्ने अधिकार दिलाउन लडे, जसले गर्दा आज म यो स्थानमा आइपुगेकी छु।” उनले भर्जिनियाका पहिलो गभर्नर प्याट्रिक हेनरीको भनाइ सम्झिँदै सबैलाई मिलेर बस्न र देशलाई टुक्रिन नदिन आग्रह गरिन्।

यस पटक एबिगेलसँगै अरू दुई जनाले पनि इतिहास बनाएका छन्। गजाला हासमी अमेरिकाको कुनै पनि राज्यमा उच्च पद सम्हाल्ने पहिलो मुसलमान (मुस्लिम )महिला बनेकी छिन् भने जे जोन्स भर्जिनियाको पहिलो अश्वेत (कालो वर्णको) महान्यायाधिवक्ता बनेका छन्।
सपथ ग्रहणमा एबिगेलले सेतो लुगा लगाएकी थिइन्, जुन महिला अधिकारका लागि लड्नेहरूको सम्मानमा लगाइएको मानिन्छ।
अब उनलाई ‘म्याम गभर्नर’ भनेर सम्बोधन गरिनेछ। डेमोक्र्याट दल (पार्टी)की एबिगेलले अब राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा नीतिहरूबाट आफ्नो राज्यको अर्थतन्त्र र स्वास्थ्य सेवालाई जोगाउने बाचा गरेकी छिन्।
प्रतिक्रिया