
अमेरिकामा कागजपत्र नभएका र नियम उल्लंघन गरेका विदेशीहरूलाई पक्राउ गरी हिरासतमा राख्ने क्रमले नयाँ किर्तिमान कायम गरेको छ। अमेरिकी अध्यागमन विभागको २३ वर्ष लामो इतिहासमा पहिलो पटक हिरासतमा रहेका व्यक्तिहरूको संख्या ७३,००० नाघेको छ। प्राप्त तथ्याङ्क अनुसार, सन् २०२५ को तुलनामा यो वर्ष पक्राउ पर्नेहरूको संख्या ८४ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले देशव्यापी रूपमा ठूलो संख्यामा मानिसहरूलाई देशनिकाला गर्ने योजना बनाएको छ। यस योजना अन्तर्गत, सरकारले एकै पटक १ लाख भन्दा बढी मानिसलाई हिरासतमा राख्ने लक्ष्य राखेको छ। विज्ञहरूका अनुसार अमेरिकी इतिहासमा यति धेरै मानिसलाई अध्यागमन हिरासतमा राखिएको यो पहिलो पटक हो।
हाल हिरासतमा रहेका ७३,००० व्यक्तिहरूमध्ये करिब ६७,००० एक्ला वयस्कहरू छन् भने बाँकी ६,००० बालबालिका र तिनका अभिभावक (पारिवारिक एकाइ) हरू छन्। पक्राउ पर्नेहरूमा अमेरिकामा अवैध रूपमा प्रवेश गरेका, प्रवेशाज्ञा (भिसा) सकिएर पनि बसिरहेका, वा आपराधिक क्रियाकलापमा संलग्न विदेशीहरू पर्दछन्।
तथ्याङ्कका अनुसार हिरासतमा रहेका करिब ४७ प्रतिशत व्यक्तिहरूमाथि कुनै न कुनै आपराधिक मुद्दा छ। तर, बाँकी ५३ प्रतिशत मानिसहरू केवल ‘अध्यागमन नियम उल्लंघन’ गरेका कारण पक्राउ परेका हुन्। पछिल्लो समय कुनै पनि आपराधिक रेकर्ड नभएका सामान्य मानिसहरू पक्राउ पर्ने क्रम २,५०० प्रतिशतले बढेको छ।
यति धेरै मानिसलाई राख्नका लागि अमेरिकी सरकारले ठूलो बजेट खर्च गरिरहेको छ। ‘वन बिग ब्युटिफुल एक्ट’ अर्थात् एक सुन्दर बृहत बिधेयक ऐन मार्फत सरकारले हिरासत केन्द्रहरू विस्तार गर्न मात्रै ४५ बिलियन डलर विनियोजन गरेको छ। अहिले मानिसहरूलाई राख्नका लागि सामान्य जेलहरू मात्र नभएर टेक्ससको फोर्ट ब्लिस जस्ता सैन्य क्षेत्रहरू र अन्य नयाँ सुविधाहरू प्रयोग गरिँदैछ।
सरकारले अपराधीहरूलाई देशबाट हटाएर सार्वजनिक सुरक्षा कायम राख्न यो कदम चालिएको बताएको छ।
प्रतिक्रिया