
अमेरिका र इरानबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ। इरानमा भइरहेको आन्दोलन र दुई देशबीचको टकरावलाई ध्यानमा राख्दै अमेरिकी रक्षा बिभाग (पेन्टागन) ले मध्य–पूर्वमा थप सेना र युद्धपोतहरू पठाउने तयारी गरिरहेको छ।
अहिले छलफल भइरहेको योजना अनुसार अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामक ठूलो युद्धपोत (एयरक्राफ्ट क्यारियर) त्यस क्षेत्रमा पठाउन सक्ने एबिसीन्यूजले जनाएको छ ।
मध्य–पूर्वका कतार, जोर्डन र इराक जस्ता देशहरूमा करिब ३०,००० अमेरिकी सैनिकहरू तैनाथ छन्। इरानबाट हुन सक्ने सम्भावित हमलाबाट आफ्ना सैनिकलाई जोगाउन र इरानलाई डराउन यो कदम चाल्न लागिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीमाथि भएको दमनलाई लिएर कडा चेतावनी दिएका छन् । अर्कोतर्फ, इरानले पनि यदि अमेरिकाले आक्रमण गरेमा त्यहाँ रहेका अमेरिकी सैन्य अखडामा ठूलो हमला गर्ने धम्की दिएको छ।
विज्ञहरूका अनुसार इरानमाथि सैन्य आक्रमण गर्नु खतरनाक हुन सक्ने किनभने यसले अमेरिकी सैनिकहरूको ज्यान जोखिममा पार्न सक्छ।
हालका लागि ट्रम्पले आक्रमणको योजना थाँती राखेको बताएका छन्, किनकि इरानमा प्रदर्शनकारीलाई मार्ने क्रम रोकिएको खबर आएको छ।
यद्यपि, सुरक्षाका लागि भन्दै अमेरिकाले समुद्रमा क्षेप्यास्त्र (मिसाइल )नष्ट गर्ने पानीजहाज र लडाकु विमानहरू थप्ने तयारी भने जारी राखेको छ।
अहिले ‘यूएसएस लिंकन’ युद्धपोत फिलिपिन्स नजिकैको समुद्रबाट मध्य–पूर्वतर्फ अघि बढिरहेको देखिएको छ । एबिसीन्यूजका अनुसार त्यसलाई त्यहाँ पुग्न करिब एक हप्ता लाग्नेछ।
प्रतिक्रिया