
निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगले शुक्रबार उनलाई सभापतिको मान्यता दिएको हो ।
नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए ।
सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आयोग पुगेका थिए । आयोगले सबै कागजात अध्ययन गरेर थापा नेतृत्वको समितिकलाई आधिकारिकता दिएको हो ।
कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।
अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।
निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।
प्रतिक्रिया