भेनेजुएलाकी विपक्षी नेतृ मचाडोद्वारा प्रदान गरिएको नोबेल शान्ति पुरस्कार ट्रम्पद्वारा पदक स्वीकार

इनेप्लिज २०८२ माघ ३ गते ११:३४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोसँग बिहीबार व्हाइट हाउसमा भेट गरे। तर उनीहरुको भेटघाटमा पत्रकारहरुलाई प्रवेश गर्न दिईएको थिएन ।

मचाडोले उनलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक उपहारस्वरूप प्रदान गरिन्। ट्रम्पले यसलाई “आपसी सम्मानको अद्भुत संकेत” भनेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखे, “मारियाले मलाई मैले गरेको कामको सम्मानस्वरूप आफ्नो नोबेल शान्ति पुरस्कारको पदक दिइन्।” उनले मचाडोलाई धेरै संघर्ष झेलेकी “अद्भुत महिला” भन्दै भेट हुनु ठूलो सम्मान भएको बताए।

व्हाइट हाउसका एक अधिकारीले ट्रम्पले पदक स्वीकार गरेको पुष्टि गरेका छन्। भेट बन्द कोठामा भएकोले विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। पत्रकारले भेट कस्तो रह्यो भनेर सोध्दा ट्रम्पले छोटकरीमा, “धेरै राम्रो भयो” मात्र भने।

व्हाइट हाउसबाट बाहिरिँदै गर्दा मचाडोले पत्रकारहरूसँग यो भेटलाई ऐतिहासिक बताइन्। उनले २०० वर्ष पुरानो एउटा घटना सम्झाइन्—जब फ्रान्सका जनरल लाफायेतले भेनेजुएलाका स्वतन्त्रता सेनानी सिमोन बोलिभरलाई जर्ज वाशिङ्टनको अनुहार अंकित पदक दिएका थिए। त्यो पदक अमेरिका र भेनेजुएलाबीच स्वतन्त्रताको लागि गरिएको संघर्षको प्रतीक थियो।

मचाडोले भनिन्, “आज २०० वर्षपछि, बोलिभरका जनता वाशिङ्टनका उत्तराधिकारीलाई फेरि स्वतन्त्रताको प्रतीकस्वरूप नोबेल शान्ति पुरस्कारको पदक दिँदैछन्।”

मचाडोले गत वर्ष भेनेजुएलामा लोकतन्त्र स्थापना गर्न गरेको संघर्षका लागि नोबेल शान्ति पुरस्कार जितेकी थिइन्। उनले यो पुरस्कार ट्रम्प र भेनेजुएलाका जनतालाई समर्पण गरेकी थिइन्।

उनले ट्रम्पलाई भेनेजुएलाका नेता निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको अमेरिकी कारबाहीका लागि ऐतिहासिक कदम भनेकी छन्। मदुरोमाथि न्यूयोर्कमा लागुऔषध तस्करीको आरोप छ।

यद्यपि, नर्वेजियन नोबेल संस्थानले स्पष्ट पारेको छ—नोबेल पुरस्कार न त हस्तान्तरण गर्न मिल्छ, न त बाँड्न।

यसैबीच, ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग पनि लामो दूरवार्ता भएको बताएका छन्। उनले दुई देशबीच सम्बन्ध सुधार हुँदै गएको संकेत दिएका छन्।

प्रतिक्रिया