भर्जिनियामा भव्य रूपमा मनाइयो ३०४ औँ पृथ्वी जयन्ती

इनेप्लिज २०८२ पुष २८ गते २३:५५ मा प्रकाशित

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्समा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस निकै भव्यताका साथ मनाइएको छ। हिमानी ट्रस्ट अमेरिकाको आयोजनामा भएको यो कार्यक्रममा त्यहाँ बसोबास गर्ने नेपालीहरूले आफ्नो देश र इतिहासप्रति सम्मान व्यक्त गरे।

कार्यक्रमको उद्घाटन ९३ वर्षीय जेष्ठ नागरिक हृदयराज शर्मा रुपाखेतीले पानसमा बत्ती बालेर गर्नुभएको थियो। हिमानी ट्रस्ट अमेरिकाका अध्यक्ष हरि शर्माको अध्यक्षतामा भएको यस कार्यक्रममा संस्थाका महासचिव आनन्द लामाले ट्रस्टले नेपालमा गरिरहेका विभिन्न सामाजिक कार्यहरूको बारेमा जानकारी गराउनु भएको थियो।

करिब ३ घण्टा चलेको यस कार्यक्रममा सहभागीहरूले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै कविता वाचन र आफ्ना विचारहरू राखेका थिए। कार्यक्रममा हिमानी ट्रस्ट मेरिल्याण्ड च्याप्टरकी प्रमुख केमीका भण्डारी र सक्रिय सदस्य राधा शर्माले पनि मन्तव्य राख्नुभएको थियो।

भर्जिनिया च्याप्टरका प्रमुख अरुण रूपाखेतीले कार्यक्रम सञ्चालन गर्दै सबैलाई आफ्नो देशको माटो र एकतालाई भुल्न नहुने सन्देश दिनुभयो। रुपाखेतीले पृथ्वी नारायण शाहको नीति र व्यक्तित्वको बारेमा समेत चर्चा गर्नु भयो ।

कार्यक्रममा विश्व हिन्दु महासंघका सदस्यहरू, पूर्व सैनिक अधिकारीहरू, र एनआरएनएका प्रतिनिधिहरू लगायत ठुलो संख्यामा देशप्रेमी नेपालीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमले विदेशमा रहे पनि नेपालीहरू आफ्नो इतिहास र राष्ट्रिय एकताप्रति कति सचेत छन् भन्ने कुरा झल्काएको छ।

उक्त कार्यक्रममा आ–आफ्नो विचार प्रकट गर्नुहुनेहरूमा अध्यक्ष हरि शर्मा, महासचिव आनन्द लामा, केमीका भण्डारी, राधा शर्मा, अरुण रुपाखेती ,कमल पोखरेल, मोदनी अधिकारी, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य गणेश बराइली, शैलेन्द्र खत्री (डी.जे. गोर्खाली), विमल बराल, नेपाली सेनाका पूर्व कर्नल तोरण प्रताप के.सी., पूर्व नेपाली सेनाका पूर्व अधिकृत शेखर थापा, प्रेम रजक, एनआरएनएका महिला उपाध्यक्ष सुनिता खत्री ,अर्जुन ढुङ्गेल, हरि पुडासैनी भरत बराइली, बद्री अधिकारी लगायतका देश प्रेमीहरू हुनुहुन्थ्यो।

यस कार्यक्रम बडो रमाइलो वातावरणमा सम्पन्न भएको थियो र उपस्थित सवैले पृथ्वी नारायण शाहको आर्थिक ,सामाजिक र बैदेशिक नितिको प्रशंसा गर्दै उहाका दिव्य उपदेश मध्ये केही मात्र अनुसरण गर्न सकियो भने पनि नेपालले थोरै समय‌मै काया पलट गर्नेछ। आज नेपालको आवश्यकता भने राजाको अभिभावक्त्व नै हो यसका लागि सबै नेपालीहरु राष्ट्रिय एकतामा आउने पर्छ भने नै थियो ।

अन्त्यमा स्वतन्त्र राजाले सधै राष्ट्रको हित खोज्छ ,परिचालीत नेताले विदेशी मित रोज्छ भन्ने कुराको सबैले वोध गर्दै ट्रष्टका अध्यक्ष हरि शर्मा , महासचिव आनन्दु लामाले हिमानी ट्रस्टले नेपालको कुना कुनामा रहेका ,कठिनाईमा परेका जनतालाई राहत दिएर देवी प्रकोपहरुमा साथ दिने निश्वार्थ सेवाको जानकारी गराउदै कार्यक्रम सम्पन्न गर्नु भएको थियो।

इनेप्लिजका प्रधान सम्पादक विश्व राज थापाले इनेप्लिजबाट प्रत्यक्ष्य प्रशारण गरेका थिए ।

प्रतिक्रिया