नोबेल पुरस्कारको नियम: मारियाले ट्रम्पलाई आफ्नो पुरस्कार दिन नमिल्ने

इनेप्लिज २०८२ पुष २७ गते १२:२५ मा प्रकाशित

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मछाडोले आफूले पाएको ‘नोबेल शान्ति पुरस्कार’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन चाहेको कुरा अहिले चर्चा पर्चामा रहेको छ। तर, नोबेल पुरस्कारको रेखदेख गर्ने ‘नर्वेजियन नोबेल सँस्था’ ले यसो गर्न नमिल्ने भन्दै मारियाको प्रस्तावलाई अस्वीकार गरिदिएको छ।

संस्थाले शुक्रबार एउटा आधिकारिक पत्र जारी गर्दै भनेको छ, “नोबेल शान्ति पुरस्कार एक पटक घोषणा भइसकेपछि त्यसलाई फिर्ता लिन, अर्को व्यक्तिको नाममा सार्न वा बाँड्न मिल्दैन।” संस्थाका अनुसार यो निर्णय अन्तिम हुन्छ र सधैँका लागि लागू हुन्छ।

मारियाले ट्रम्पलाई यो पुरस्कार दिन चाहनुको कारण भेनेजुएलाका शक्तिशाली नेता निकोलस मदुरोलाई पक्राउ गर्न ट्रम्पले गरेको सहयोग हो। मारियाले फक्स न्युजसँगको कुराकानीमा ट्रम्पको कदम ऐतिहासिक भएको र यो पुरस्कार उनलाई बाँड्न पाउँदा आफू खुसी हुने बताएकी थिइन्।

ट्रम्प आफैँले पनि यो पुरस्कार पाउने इच्छा पहिले देखि नै राख्दै आएका थिए र मारियाले दिन खोज्नुलाई ‘ठूलो सम्मान’ भनेका थिए।

यद्यपि, नोबेल पुरस्कारको कडा नियमका कारण मारियाले चाहेर पनि आफ्नो पदक ट्रम्पलाई सुम्पिन पाउने छैनन्। ट्रम्प र मारियाबिच अर्को हप्ता भेटघाट हुने कार्यक्रम छ, तर पुरस्कारको विषयमा भने नोबेल संस्थाले बाटो बन्द गरिदिएको छ।

प्रतिक्रिया