
अमेरिकाको ओहायो राज्यमा एक दन्त चिकित्सक र उनकी पत्नीको हत्या पछि अन्तत्वगत्वा प्रहरीले सफलता हात परेको छ । १० दिनसम्म चलेको खोजपछि प्रहरीले मोनिक टेपेका पूर्वपति माइकल डेविड म्याकी (३९) लाई पक्राउ गरेको छ। उनीमाथि दुई जनाको हत्या गरेको आरोप लगाइएको छ।
सिबिएसन्यूजका अनुसार स्पेन्सर टेप (३७) र मोनिक टेप (३९) डिसेम्बर ३० मा आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए। उनीहरूको शरीरमा गोली लागेको देखिएको थियो। घटनाको समयमा घरभित्र उनीहरूका दुई साना बच्चा — ४ वर्ष र १ वर्षका — पनि थिए, तर उनीहरूलाई कुनै शारीरिक चोट लागेको थिएन।
यो घटना निकै रहस्यमय बनेको थियो, किनकि प्रहरीले लामो समयसम्म कुनै जानकारी सार्वजनिक गरेको थिएन। पछि प्रहरीले एक श्रब्यदृश्य (भिडियो) सार्वजनिक गर्यो, जसमा घर नजिकै एक शंकास्पद व्यक्ति हिँडिरहेको देखिन्थ्यो।
माइकल म्याकीलाई इलिनोइ राज्यको रकफोर्ड शहरबाट बिना कुनै संघर्ष पक्राउ गरिएको छ । अहिले उनी प्रहरी हिरासतमा छन् र अदालतमा पेश हुने तयारी भइरहेको छ।
यस दुःखद घटनापछि, मृतक दम्पतीको घरअगाडि फूल र गुलाफ राखेर मानिसहरूले श्रद्धाञ्जली दिएका छन्। यो घर जहाँ उनीहरूले बिहे गरेका थिए, त्यही यस्तो दर्दनाक घटना भएको हो।
प्रतिक्रिया