
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड टापुलाई अमेरिकाको कब्जामा लिने इच्छा फेरि दोहोर्याए पछि ग्रिनल्याण्डका नेताहरूले यसलाई सिधै अस्वीकार गरेका छन्।
ग्रिनल्याण्डका प्रधानमन्त्री र अन्य दलका नेताहरूले भनेका छन्— “हामी न त अमेरिकन बन्न चाहन्छौँ, न त डेनमार्ककै मानिस। हामी ग्रिनल्याण्डवासी नै रहन चाहन्छौँ।” उनीहरूले अमेरिकालाई आफ्नो देशको अपमान नगर्न पनि चेतावनी दिएका छन्।
ट्रम्पले यो टापु सजिलो तरिकाले नदिए “अप्ठ्यारो तरिका” (बल प्रयोग गरेर) पनि लिन सक्ने बताएका छन्। उनले यदि अमेरिकाले यसलाई नलिए रुस वा चीनले कब्जा गर्ने डर देखाएका छन्। ह्वाइट हाउसले यसका लागि सेना प्रयोग गर्न सकिने सम्भावना समेत देखाएको छ।
ग्रिनल्याण्डका झन्डै ८५ प्रतिशत जनता अमेरिकाले आफ्नो देश कब्जा गरोस् भन्ने चाहँदैनन्। अमेरिकी सिनेटर र्यान्ड पलले पनि सैन्य बल प्रयोग गरेर ग्रिनल्याण्ड लिने कदमलाई रोक्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्।
किन विवाद? : ग्रिनल्याण्ड क्षेत्रफलको हिसाबले विश्वकै ठूलो टापु हो, तर यहाँको जनसंख्या मात्र ५७,००० छ। यो अहिले डेनमार्कको अधिनमा छ। डेनमार्कका प्रधानमन्त्रीले भनिन् ,यदि अमेरिकाले ग्रिनल्याण्ड कब्जा गरेमा सैन्य संगठन नेटो नै समाप्त हुन सक्छ।
अहिले ग्रिनल्याण्ड, डेनमार्क र अमेरिकाका अधिकारीहरू यसबारे छलफल गरिरहेका छन्। ग्रिनल्याण्डका जनता भन्छन्— “हामीलाई एक्लै छोडिदेऊ, हाम्रो भविष्यको फैसला हामी आफैँ गर्छौँ।”
प्रतिक्रिया