
अमेरिकाको मिसिसिपी राज्यको उत्तरपूर्वी भागमा पर्ने सानो ग्रामीण क्षेत्र सिडारब्लफमा भएको भयानक घटनाले सबैलाई स्तब्ध बनाएको छ। २४ वर्षीय डारिका एम. मुर नामक युवकलाई ६ जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। मृतकमध्ये एक जना ७ वर्षको बालक पनि छन्।
क्ले काउन्टीका शेरिफ एडी स्कटका अनुसार, ती ६ जनामध्ये चार जना आरोपीका आफन्त थिए भने दुई जना अन्य वयस्कथिए। गोली प्रहार तीन फरक स्थानमा गरिएको थियो। सबै घटना शुक्रबार राति भएका हुन्।
शेरिफ स्कटले पत्रकार सम्मेलनमा भने, “७ वर्षको निर्दोष बच्चालाई मार्ने कुनै पनि कारण बुझ्न सकिँदैन।” उनले यो घटना अत्यन्तै दुःखद र अकल्पनीय भएको बताए।
अनुसन्धान अनुसार, आरोपी मुरले उक्त बालकको घरमा अर्को सानो बच्चाको टाउकोमा पनि बन्दुक राखेको हुनसक्ने आशंका गरिएको छ। एपीका अनुसार तर, गोली चलेन वा बन्दुक बिग्रिएको थियो कि भन्ने कुरा अझै स्पष्ट छैन। त्यो घरमा ती बालककी आमा र अर्को सानो बच्चा पनि उपस्थित थिए।
अदालतका अभिलेखअनुसार, मुरमाथि यसअघि कुनै आपराधिक मुद्दा थिएन। शेरिफका अनुसार, मुर नै एक्लो आक्रमणकारी भएको प्रमाण र साक्षीहरू छन्।
मुरमाथि हाल प्रथम दर्जाको हत्याको आरोप लगाइएको छ, जुन पछि क्यापिटल मर्डर (सबैभन्दा गम्भीर) मा बदलिन सक्छ। उनी सोमबार अदालतमा पेश हुनेछन्।
प्रतिक्रिया