
अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस शहरका नगर प्रमुख र प्रहरी प्रमुखका अनुसार आईसिइ (आप्रवासन अधिकारी) विरुद्ध भएका प्रदर्शनहरू धेरैजसो शान्तिपूर्ण थिए, यद्यपि केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ।
मिनेसोटाका तीन जना अमेरिकी सांसद—इल्हान ओमार, एन्जी क्रेग र केली मोरिसनले शनिबार बिहान संघीय भवनमा निरीक्षण गर्न जाँदा आफूहरूलाई बाहिर जान भनिएको दाबी गरेका छन्।
इल्हान ओमारले आफूले त्यहाँ करिब २० जनालाई केही समयका लागि थुनिएको देखेको बताइन्। तर त्यसपछि उनीहरूलाई भवनबाट बाहिर निकालियो।
ओमारले भनिन्,“आज भएको घटनाले संसद सदस्यहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न नदिन खोजिएको देखाउँछ।”

शुक्रबार राति मिनियापोलिसमा भएको प्रदर्शनमा करिब १,००० भन्दा बढी मानिस सहभागी थिए। तीमध्ये सानो समूहले बाटो अवरुद्ध गरे, एक अतिथि गृहको सम्पत्तिमा क्षति पुर्याए र त्यसपछि ३० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख ब्रायन ओ’हारा अनुसार हिमपात भएको हुनाले एउटा बरफको टुक्रा लागेर एक प्रहरी घाइते भएका छन् । तर अन्य कुनै गम्भीर चोट नलागेको उनले बताए ।
नगर प्रमुख ज्याकोब फ्रेले भने, “धेरैजसो प्रदर्शनकारीहरूले शान्ति कायम राखे। म उनीहरूलाई धन्यवाद दिन चाहन्छु। तर कसैले हिंसा गरे वा क्षति पुर्याए भने पक्राउ गरिनेछ। हामी ट्रम्प प्रशासनको अराजकतालाई एकता र शान्तिबाट सामना गर्नेछौं।”
प्रतिक्रिया