भेनेजुएलामा फेरि खुल्दै अमेरिकी दूतावास: अमेरिकी अधिकारीहरू राजधानी पुगे

इनेप्लिज २०८२ पुष २६ गते १०:५६ मा प्रकाशित

अमेरिकी विदेश बिभागको एउटा विशेष टोली भेनेजुएलाको राजधानी काराकास पुगेको छ। सन् २०१९ पछि पहिलो पटक अमेरिकी अधिकारीहरू यसरी भेनेजुएला गएका हुन्।

यो भ्रमण निकै महत्त्वपूर्ण समयमा भएको छ। केही दिनअघि मात्र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको थियो। मदुरो सरकारसँग सम्बन्ध बिग्रेपछि अमेरिकाले सन् २०१९ देखि त्यहाँ रहेको आफ्नो दूतावास बन्द गरेको थियो। अहिले ट्रम्प प्रशासनले सो दूतावास फेरि खोल्नेबारे विचार गरिरहेको छ।

शुक्रबार काराकास पुगेको यस टोलीमा कूटनीतिक र सुरक्षा अधिकारीहरू सहभागी छन्। उनीहरू छिमेकी देश कोलम्बियामा रहेको “भेनेजुएला मामिला इकाइ” बाट त्यहाँ गएका हुन्। टोलीको नेतृत्व कोलम्बियाका लागि कार्यवाहक अमेरिकी राजदूत जोन म्याकनामाराले गरिरहेका छन्।

उनीहरूको मुख्य काम दूतावास खोल्नका लागि त्यहाँको अवस्था कस्तो छ भनेर सुरुवाती जाँच गर्नु हो। अमेरिकी विदेश बिभागका एक उच्च अधिकारीका अनुसार, यदि राष्ट्रपतिले आदेश दिएमा दूतावास तुरुन्तै सञ्चालन गर्न सकिने गरी तयारी भइरहेको छ।

धेरै वर्षदेखि यी दुई देशबीच बोलचाल बन्द थियो। अब यो भ्रमणसँगै भेनेजुएला र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध फेरि जोडिने आशा गरिएको छ।

प्रतिक्रिया