भेनेजुएलाको तेलमा अब अमेरिकाको पनि हिस्सा: राष्ट्रपति ट्रम्पको नयाँ योजना

इनेप्लिज २०८२ पुष २५ गते २३:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेलबाट हुने आम्दानी अब भेनेजुएला, अमेरिका र तेल कम्पनीहरूबीच बाँडफाँड गरिने बताएका छन्।

उनले अमेरिकी तेल प्रतिष्ठानका प्रमुखहरूसँग छलफल गर्दै उनीहरूलाई भेनेजुएलामा लगानी गर्न आग्रह गरेका छन्। ट्रम्पका अनुसार यो एक सरल सुत्र हो— पहिले प्रतिष्ठानहरूले लगानी गर्ने, त्यसपछि छिटोभन्दा छिटो नाफा निकाल्ने र सबै मिलेर बाँड्ने।

यद्यपि, प्रतिष्ठान(कम्पनी)हरूले भेनेजुएलामा लगानी गर्न केही डर मानेका छन्। विगतमा त्यहाँको सरकारले विदेशी प्रतिष्ठानका यन्त्र र सुविधाहरू कब्जा गरेको हुनाले उनीहरू सतर्क छन्।

‘एक्सन मोबिल’ जस्ता ठूला कम्पनीका प्रमुखहरूले अहिलेको अवस्थामा भेनेजुएलामा लगानी गर्नु जोखिमपूर्ण रहेको बताएका छन्। तर, राष्ट्रपति ट्रम्पले पुराना कुरा बिर्सिन आग्रह गर्दै प्रतिष्ठानहरूलाई पूर्ण सुरक्षा दिने बाचा गरेका छन्। उनले भनेका छन्, “हामी त्यहाँको सुरक्षा व्यवस्था यति कडा बनाउनेछौ कि तपाईको लगानी पूर्ण सुरक्षित हुनेछ।”

ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको तेल पूर्वाधार सुधार गर्न कम्तीमा १०० बिलियन डलर खर्च गर्ने योजना रहेको खुलासा गरे। यो पैसा सरकारको नभई निजी प्रतिष्ठानहरूको हुनेछ। ट्रम्पले भेनेजुएलाको तेललाई संसारकै उत्कृष्ट मध्येको एक भन्दै यसबाट सडक बनाउन प्रयोग गरिने ‘अलकत्रा’ का लागि यो निकै उपयोगी हुने बताए।

ट्रम्पले भेनेजुएलाको समुद्री किनारमा अमेरिकाको ठूलो युद्धपोतको समूह तैनाथ रहेको भए पनि त्यसको प्रयोग गर्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे। केही समयअघि मात्र अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो।

ट्रम्पले दोस्रो चरणको आक्रमणको योजना बनाइएको भए पनि पहिलो प्रयास नै सफल भएकाले अब त्यसको आवश्यकता नभएको बताए।

अन्तमा, ट्रम्पले भेनेजुएलाका नेता र जनतासँग मिलेर काम गर्ने र यसबाट सबैलाई फाइदा पुग्ने बताएका छन्।

प्रतिक्रिया