
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सरकार विरोधी प्रदर्शनकारीहरूसामु आफ्नो शासनले कहिल्यै “नझुक्ने” अडान लिएका छन्।
इरानमा विगत १२ दिनदेखि जारी आन्दोलनले इस्लामिक गणतन्त्रको कट्टरपन्थी शासनलाई ठुलो चुनौती दिएको छ।
निर्वासित युवराज जो हाल अमेरिकामा छन उनको आह्वानमा बिहीबार राति राजधानी तेहरानसहित देशका विभिन्न सहरहरूमा हजारौँ इरानीहरू सडकमा उत्रिएका छन्।
देशभर अन्तरजाल र दूरभाष ( इन्टरनेट र फोन) सेवा पूर्ण रूपमा ठप्प पारिए तापनि प्रदर्शनको तीव्रता झन् बढेको छ।
हालसम्म सुरक्षा बलको दमनमा परी करिब ४० जनाको मृत्यु भइसकेको छ भने २,००० भन्दा बढी प्रदर्शनकारीहरू हिरासतमा छन्।
सूचना प्रवाहमा कडा प्रतिबन्ध लगाइएका कारण आन्दोलनको वास्तविक अवस्था पत्ता लगाउन कठिन भए तापनि ८६ वर्षीय सर्वोच्च नेता खामेनी शुक्रबार बिहान सरकारी दूरदर्शन( टेलिभिजन)मा देखा परेका थिए।
उनले आन्दोलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा गरिएको षड्यन्त्रको रूपमा चित्रण गरे।
खामेनीले प्रदर्शनकारीहरूलाई “उपद्रवीहरूको समूह” भन्दै टिप्पणी गरे र तेहरानस्थित राज्य नियन्त्रित दूरदरिशन(टेलिभिजन) भवनमा भएको आगजनीको निन्दा गरे।
उनले भने, “केही उपद्रवीहरूले अमेरिकी राष्ट्रपतिलाई खुसी पार्नका लागि आफ्नै सार्वजनिक भवनहरू ध्वस्त पारिरहेका छन्।”
शासन विरोधी यो लहर सन् १९७९ को क्रान्तिपछिको सबैभन्दा गम्भीर चुनौती मानिएको छ, तर सरकारले प्रदर्शनकारीहरूलाई दबाउन कुनै कसर बाँकी नराख्ने संकेत दिएको छ।
प्रतिक्रिया