
अमेरिकी दक्षिणी कमान्डले शुक्रबार भेनेजुएलासँग सम्बन्धित पाँचौँ तेल ट्याङ्कर(जहाज) क्यारिबियन सागरमा नियन्त्रणमा लिएको पुष्टि गरेको छ।
अमेरिकी तटरक्षकले नौसेनाको सहयोगमा ‘ओलिना’ नामक तेल बाहक जहाज(ट्याङ्कर) कब्जा गर्ने प्रक्रिया अघि बढाएको अधिकारीहरूले जनाएका छन्।
यो अभियानका लागि विमानवाहक जहाज ‘यूएसएस जेराल्ड आर फोर्ड’ बाट नौसेनाहरु खटाइएको थियो।
दक्षिणी कमान्डका अनुसार, गृह सुरक्षा विभागको पश्चिमी गोलार्धमा अवैध गतिविधि अन्त्य गर्ने र सुरक्षा पुन:स्थापना गर्ने अभियान अन्तर्गत यो कारबाही गरिएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको दृश्यमा अमेरिकी उदग्रविमान( हेलिकप्टर) जहाजमा अवतरण गरेको र सुरक्षाकर्मीहरूले डेक खानतलासी गरेको देखिन्छ।
राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि भेनेजुएलाको तेल वितरणमा विश्वव्यापी नियन्त्रण कायम गर्ने ट्रम्प प्रशासनको बृहत्तर योजना अन्तर्गत यो पाँचौँ तेल जहाज कब्जा गरिएको हो।
यसअघि बुधबार मात्र उत्तर एटलान्टिक र क्यारिबियन क्षेत्रबाट अन्य दुई जहाजहरु— ‘मारिनेरा’ र ‘एम/टी सोफिया’— नियन्त्रणमा लिइएका थिए।
यी जहाजहरू रुस, इरान र भेनेजुएला जस्ता प्रतिबन्धित मुलुकहरूबाट अवैध रूपमा तेल ओसारपसार गर्ने ‘श्याडो फ्लिट’ (छाया जहाजहरू) को हिस्सा भएको अमेरिकी दाबी छ।
दक्षिणी कमान्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो संयुक्त बलले आज बिहान फेरि स्पष्ट सन्देश दिएको छ: अपराधीहरूका लागि अब कुनै सुरक्षित स्थान छैन।”
प्रतिक्रिया