
अमेरिकाको फ्लोरिडा राज्यमा क्रिसमसको दिन एउटा पोखरीमा डुब्न लागेका ६ वर्षीय अटिजम भएका बालकको ज्यान बचेको छ ।
प्रहरीले यसलाई अनौठो र डरलाग्दो घटना बताएको छ । सिबिएसन्यूजका अनुसार ‘कोको’ नाम गरेका ६ वर्षीय बालक, जो बोल्न सक्दैनन् र ‘अटिजम’ बाट प्रभावित छन्, अचानक आफ्नो घरबाट हराए। उनी नजिकैको एउटा गहिरो पोखरीमा पुगेका थिए।
प्रहरीको हेलिकप्टर(उदग्रविमान)ले उनलाई छातीसम्म आउने पानीमा फेला पारेपछि तुरुन्तै उद्धार गर्यो । जाडोले अलिकति कम्पन भएता पनि उनलाई केही चोटपटक लागेको थिएन। १५ महिना अघि पनि कोको यसरी नै एउटा पोखरीमा डुबेका थिए, जहाँ उनलाई एक प्रहरीले हाँगामा झुण्डिरहेको अवस्थामा बचाएका थिए।
कोको जस्ता अटिजम भएका धेरै बालबालिकाहरू पानी प्रति निकै आकर्षित हुन्छन्। पहिलो पटकको घटनापछि उनलाई पौडी खेल्न सिकाइएको थियो ।र, घरमा खतराको सूचना दिने घण्टी (अलार्म)पनि राखिएको थियो।
तैपनि उनी फेरि पानीमा पुग्न सफल भए। प्रहरीले यस्ता बालबालिका भएका परिवारलाई घरको ढोकामा खतराको सूचना दिने घण्टी राख्न, वरिपरि बार लगाउन र हातमा ‘जीपीएस ट्र्याकर’ (विश्वव्यापी स्थिति निर्धारण प्रणाली) बाँधिदिन आग्रह गरेको छ ताकि उनीहरू हराएमा तुरुन्तै भेट्टाउन सकियोस्।
अहिले कोको आफ्नो परिवारसँग सुरक्षित छन्।
प्रतिक्रिया