नेपाली भाषीहरुले बाल्टिमोरमा भब्य क्रिसमस मनाए

पापबाट मुक्त भएर मर्न ख्रीष्टमा विश्वास गर्नु आवश्यक छ- डा. मनोज श्रेष्ठ

इनेप्लिज २०८२ पुष १२ गते २:१७ मा प्रकाशित

सुमन आशिषित । डिसेम्बर २६ । मेरिल्याण्ड

मानवजातीको पाप क्षमा र उद्धार मुक्तिका निम्ति आज भन्दा २०२५ बर्षअघि इजरायलको बेथेलममा प्रभु ख्रीष्टको जन्म भएको थियो । पूर्ण रुपमा परमेश्वर तर पूर्ण रुपमा मानिस भएर जन्मु भएको प्रभु ख्रीष्टको यो जन्मोत्सव अर्थात क्रिसमस उत्सव मात्रै नभएर एक सन्देश पनि हो ।

यो उत्सव र सन्देशको मिश्रण क्रिसमस नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोर, अमेरिकाले बिहिबार फ्रिडम चर्च रोजडेलमा नेपाली भाषीहरुको बीचमा शुभकामना आदन प्रदान तथा बिबिध कार्यक्रमको आयोजना गरी भब्य रुपमा मनायो ।

अर्ध निशामा बोलको गीत पाष्टर राजु बुढाथोकी र अन्य टिमहरुद्धारा गाएर शुरु भएको कार्यक्रममा सुरुको प्रार्थना डिकन जीवन आले गर्नुभएको थियो भने कार्यक्रमको संचालन मन्डलीका डिकन सुर्योदय तिमिल्सिना र चन्दा तिमिल्सिनाले गर्नु भएको थियो । क्वायर टिमले ‘आजको साझँ’, ‘गाएर हिड्ने’, ‘सिरीरी हावा चल्यो’ र ‘धन्यबादको उपहार देउ’ बोलका क्यारोल गीतहरु गाएर प्रभु ख्रीष्टलाई आराधना र महिमा गरेका थिए ।

उक्त क्रिसमसको बिशेष कार्यक्रममा मन्डलीका विश्वासी मात्रै नभएर स्थानीय रुपमा विभिन्न क्षेत्रमा उच्च छबि बनाएका लब्ध प्रतिषिठित ब्यापारी, उधोगी, समाजसेवी, कलाकार, जनप्रतिविधि र संघ संस्थाका प्रतिनिधि लगायत अन्य मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । अमेरिका, नेपाल, भुटान लगायतका देश र सम्पूर्ण कम्युनिटीको निम्ति डिकन रबिन रिमालले प्रार्थना गर्नुभएको थियो। त्यसैगरी सन्डे स्कूलका बालबालिकाहरूले अंग्रेजी गीत प्रस्तुत गरी कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।

हिक्मत बसेलले “म नाच्नुको कारण मेरो येशु” शीर्षकको गीत र भेटीको गीत दिवस कार्कीले प्रस्तुत गर्नु भएको थियो भने अर्जुन हमालले उपस्थित अतिथिहरूलाई स्वागत गर्नु भएको थियो ।

क्रिसमस बारेमा ब्याख्या गर्दै मन्डलीका पाष्टर प्रा. डा. मनोज श्रेष्ठले बाइबलको लुका २:१–१३ मा केन्द्रित रही बचन प्रचार गर्नु भएको थियो ।

उहाँले “येशु ख्रीष्टको जन्म हुदाँ बेथलेम र त्यसका वरपरका सारा मानिसहरू बेचैन अवस्थामा थिए, तर पूर्वका ज्ञानी ज्योतिषीहरूले सुन, चाँदी. धुप र मुर्र चढाएर प्रभु येशुको आराधना गरे। हामी पनि तिनै पूर्वका ज्ञानी ज्योतिषीहरुको भेगबासी हौं । यसकारणलो पनि हामी प्रभु येशुको महिमा र आराधना गर्नु पर्छ” भनि बताउनु भयो ।

शारीरिक जीवनलाई जति ध्यान दिन्छौँ, त्यस्तै आत्मिक जीवनको पनि ध्यान दिन जरुरी छ । तसर्थ आत्मिकी जीवनको उद्धारका लागि पनि ख्रीष्टको चरणमा आउन आवश्यक रहेको कुरामा जोड दिनु भयो । पहिले पाप क्षमाका लागि पशु बलिदान दिनु पर्ने भए पनि अब प्रभु येशु ख्रीष्टको बलिदानद्वारा हाम्रो पाप क्षमा भएको छ, यही नै क्रिसमसको साँचो सन्देश हो। मानिस मर्दा धनको ऋणमुक्त त हुन्छ, तर पापको ऋणमुक्त हुन सक्दैन पापबाट मुक्त भएर मर्न ख्रीष्टमा विश्वास गर्नु आवश्यक छ भन्ने सन्देश नै क्रिसमसको साँचो सन्देश भएको डा. मनोजले बताउनु भयो । पाष्टर प्रा. डा. मनोजले प्रचार गर्नु भएको बचन पाठ मन्डलीका सदस्य सुमन आशिषितले गर्नुभएको थियो ।

त्यस्तै मेरील्याणड स्टेटका डेलिकेट ह्यारी भण्डारीले क्रिसमसको महत्वबारे प्रकाश पार्दै यो दिन एक अर्काबीचको तितोपन हटाई क्षमा र प्रेम बाँड्ने दिन भएको बताउनुभयो। साथै नेपाली समुदायले अझ धेरै परमेश्वरलाई चिन्न आवश्यक रहेको धारणा राख्नुभयो।

घिमिरे होम्सका प्रबन्ध निर्देशक कृष घिमिरेले बिधार्थी जीवनमा क्यानाडा रहदाँ एक ख्रीष्टियन परिवारले अप्ठोरो पर्दा गरेको साहयतालाई स्मरण गर्दै ख्रीष्टियनहरु दयालु र प्रेमिल हुने बताउनु भयो ।

त्यसैगरी बानाका अध्यक्ष जितेन गुरुङ, समाजसेवी रबिलाल सुनार, बानाका पूर्ब अध्यक्ष सुबोध बिलास पन्त, बुद्धिजीवी दुर्गाप्रसाद श्रेष्ठले पनि क्रिसमसको महत्वको चर्चा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा उपस्थित अतिथिहरूलाई उपहार टिकट वितरण गरिएको थियो।

त्यही टिकटलाई गोलाप्रथा गर्दा माइला तमु, उजेली रामदाम, अमर पाइजा, लक्ष्मी गुरुङ, बुद्ध गुरुङ, र श्रेया गुरुङ विजेता हुनु भएको थियो ।

कार्यक्रममा अक्सा थापा र निकिता क्षेत्रीले नृत्य ज्योति केसी, रतिना श्रेष्ठ, राज सुनार र दिवस कार्कीको समूहले गीत प्रस्तुत गरेर प्रभु ख्रीष्टको महिमा र थप मनोरञ्जन प्रदान गर्नु भएको थियो । र अन्तिमको प्रार्थना पा. मोहन श्रेष्ठले गर्नु भएको थियो ।

यसरी समग्रमा कार्यक्रमले क्रिसमसको साँचो सन्देश, प्रेम, क्षमा र उद्धारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै सहभागीहरूलाई आत्मिक रूपमा उत्साहित बनाइएको थियो।

फोटोग्राफर : ज्ञान राई

प्रतिक्रिया