
अमेरिकाको पेन्सिलभेनिया राज्यमा रहेको एउटा वृद्धाश्रममा भीषण आगलागी भएको छ। ‘सिल्भर लेक’ नामको यो वृद्धाश्रममा सम्भवतः ग्यास विस्फोट भएका कारण यस्तो ठूलो दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार यो घटना निकै गम्भीर रहेको छ । त्यहाँ धेरै मानिसहरू घाइते भएको वा ज्यान गुमाएको हुनसक्ने डर भएको प्रहरीले बताए । एउटा ठूलो भवनको केही भाग विस्फोटका कारण भत्किएको छ र केही मानिसहरू अझै पनि भग्नावशेष र आगोको बीचमा भित्रै थुनिएको विश्वास गरिएको छ। उद्धारकर्मीहरू आफ्नो ज्यान जोखिममा राखेर भित्र फसेका मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न प्रयास गरिरहेका छन्।

पेन्सिलभेनियाका गभर्नर जोस शापिरोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबैलाई सावधानी अपनाउन र घटनास्थल वरपर नजान आग्रह गरेका छन् । उनले स्थानीय प्रशासन र उद्धार टोलीहरूसँग निरन्तर सम्पर्कमा रहेको र घाइतेहरूको सहयोगका लागि सरकार लागिपरेको बताएका छन्।
उनले भनेका छन्, “कृपया यस कठिन घडीमा पीडित परिवार र समुदायका लागि प्रार्थना गरिदिनुहोला।”
हालसम्म विस्फोटको ठ्याक्कै कारण पत्ता नलागे पनि अनुसन्धान जारी छ। प्रहरी र दमकल टोलीहरू अहिले पनि आगो निभाउन र मानिसहरूलाई बचाउन व्यस्त छन्।
प्रतिक्रिया