
अमेरिकाले शिनजियाङ क्षेत्रमा भएको मानवअधिकार दुर्व्यवहार उजागर गर्न सहयोग गरेका एक चिनियाँ नागरिकलाई देश निकाला गर्ने योजना फिर्ता लिएको अधिकारकर्मीहरूले बताएका छन्। यस निर्णयले मानवअधिकार क्षेत्रमा ठूलो राहत र सन्देश दिएको छ।
अमेरिकी गृह सुरक्षा विभागले ग्वान हेंग नामक ३८ वर्षीय चिनियाँ नागरिकलाई युगान्डा पठाउने आफ्नो माग फिर्ता लिएको हो। मानवअधिकार वकिल रायहान असतका अनुसार, डिएचएसले ग्वानका वकिललाई पत्र पठाएर देश निकाला नगर्ने निर्णय जानकारी गराएको छ। असतले अब ग्वानको शरण मुद्दा सहज र सकारात्मक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन्।
चिनिया मानवअधिकार संस्थाका कार्यकारी निर्देशक झोउ फेंग्सुओले पनि यो निर्णयको पुष्टि गर्दै भने, “हामी अत्यन्त खुसी छौं।” डिएचएस ले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। हाल ग्वान न्यूयोर्कस्थित आइसिइहिरासत केन्द्रमा छन्, तर उनको कानुनी टोली धरौटीमा रिहाइका लागि काम गरिरहेको छ।
एबिसीन्यूजका अनुसार सन् २०२० मा ग्वानले चीनको शिनजियाङ क्षेत्रमा रहेका थुनुवा शिविरहरू गोप्य रूपमा श्रब्यदृश्यमा कैद गरेका थिए। अधिकारकर्मीहरूका अनुसार, ती शिविरहरूमा उइगरसहित करिब १० लाख जातीय अल्पसंख्यकलाई बन्दी बनाइएको छ। चीन सरकारले भने यी आरोप अस्वीकार गर्दै ती स्थानहरूलाई “व्यावसायिक तालिम केन्द्र” भनेको छ।
श्रब्यदृश्य सार्वजनिक गर्न चीनमै सम्भव नदेखेपछि ग्वान २०२१ मा हङकङ हुँदै इक्वेडर पुगे। त्यसपछि बहामासबाट सानो डुंगामा करिब २३ घण्टा समुद्र यात्रा गरी फ्लोरिडा पुगेका थिए। अमेरिका पुगेपछि उनका श्रब्यदृश्य (भिडियोह)रू युट्युबमा सार्वजनिक भए, जसले शिनजियाङ दुर्व्यवहारका थप प्रमाण दिएको अधिकार समूहले जनाएको छ।
तर त्यसपछि ग्वानको पहिचान सार्वजनिक गरियो र चीनमा रहेका उनका परिवारलाई राज्य सुरक्षाले बोलायो। ग्वानले अमेरिका आएर शरण मागे, तर अगस्तमा आइसिइले उनलाई नियन्त्रणमा लियो।
हालै कांग्रेससहित सार्वजनिक समर्थन बढेपछि अमेरिकी सांसदहरूले ग्वानलाई सुरक्षित आश्रय दिन माग गरेका थिए। सांसद राजा कृष्णमूर्थीले भने, “मानवअधिकार उल्लंघन उजागर गर्ने साहसी व्यक्तिहरूलाई बचाउनु अमेरिकाको नैतिक जिम्मेवारी हो।”
प्रतिक्रिया