
ट्रम्प प्रशासनले सुरक्षाको कारण देखाउँदै १९ वटा ‘शंकास्पद’ देशका नागरिकहरूको स्थायी आवासीय पत्र (ग्रिन कार्ड )र नागरिकता प्रक्रियामा रोक लगाएको छ। गत नोभेम्बरमा एक अफगान नागरिकले राष्ट्रिय सैनिक दलका एक सदस्य सदस्यमाथि गोली प्रहार गरेपछि यो कडा कदम चालिएको हो।
अमेरिकी अध्यागमन विभागले जारी गरेको निर्देशन अनुसार यी देशका नागरिकहरूको आवेदनलाई फेरि सूक्ष्म रूपमा जाँच गरिनेछ। यसका लागि उनीहरूले फेरि अन्तर्वार्ता दिनुपर्ने हुन सक्छ। यसका साथै, धेरै मानिसहरूको नागरिकताको शपथ ग्रहण गर्ने कार्यक्रम पनि अन्तिम समयमा रद्द गरिएको छ।
एबिसीन्यूजले जनाए अनुसार धेरै वकिल र अधिकारवादीहरूले यसलाई ‘विदेशीप्रति डराउने भावना’ को रूपमा लिएका छन्। उनीहरूका अनुसार वर्षौँदेखि कानुनी रूपमा बसिरहेका र सबै प्रक्रिया पूरा गरेका मानिसहरूलाई पनि अपराधी जस्तै व्यवहार गरिएको छ। उदाहरणका लागि, अमेरिकी सेनालाई सहयोग गर्ने एक अफगान महिलाको नागरिकता समारोह पनि रद्ध गरिएको छ।
राष्ट्रपति ट्रम्पले देशको शान्ति भंग गर्ने आप्रवासीहरूको नागरिकता नै खोस्न सक्ने चेतावनी समेत दिएका छन्। हाल प्रशासनले प्रत्येक महिना २०० वटा पुराना मुद्दाहरूलाई पुनरावलोकन गरेर नागरिकता रद्द गर्ने तयारी गरिरहेको छ। यसले अमेरिकामा बसोबास गर्ने कानुनी आप्रवासीहरूमा पनि ठूलो त्रास र अन्योल पैदा गरेको छ।
प्रतिक्रिया