बिश्वप्रसिद्ध मुडकीवाज एन्थोनी जोशुआले चर्चित युट्युबर जेक पललाई ढाले,बंगारा नै भाँचियो

इनेप्लिज २०८२ पुष ५ गते १७:०३ मा प्रकाशित

शुक्रबार राति भएको अत्यधिक वजन मुक्का वजन समूह(हेभीवेट बक्सिङ )प्रतियोगितामा दुई पटकका विश्व बिजेता एन्थोनी जोशुआले चर्चित युट्युबर तथा मुड्कीवाज जेक पललाई ढाल्दै सानदार जित हासिल गरेका छन्। फ्लोरिडा राज्यको मायामीको कासेया केन्द्रमा करिब २० हजार दर्शकको अगाडि भएको यो खेल छैटौँ चरण (राउन्ड)सम्म पुगेको थियो।

खेलको सुरुदेखि नै जोशुआले आफ्नो अनुभव र शारीरिक उचाइको फाइदा उठाएका थिए। जोशुआले पाँचौँ चरणमै पललाई दुई पटक भुइँमा ढालेका थिए। छैटौँ चरण(राउन्ड)को सुरुमै जोशुआले हानेको एउटा शक्तिशाली चिउँडो प्रहार अर्थात् ‘अपरकट’ मुक्काले पललाई निकै कमजोर बनायो। त्यसको केही समयमै जोशुआको अर्को प्रहारले पललाई चौथो पटक मुड्की खेल मैदान (रिङ)मा ढालेपछि निर्णायक क्रिस्टोफर योङले खेल समाप्त भएको घोषणा गरे।

हारपछि पलले सामाजिक सञ्जालमार्फत आफ्नो बंगारा दुई ठाउँमा भाँचिएको जानकारी दिएका छन्। उनले अस्पतालबाट आफ्नो एक्स-रे तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “मेरो बंगारा दुई ठाउँमा भाँचिएको छ, तर म ठीक छु।” खेलअघि जोशुआले यो खेल एकै चरणमा जित्ने दाबी गरेका थिए। तर खेलपछि उनले पलको हिम्मतको प्रशंसा गर्दै भने, “जेकले आज राति राम्रो खेल देखाए। पटक-पटक लडेर पनि उठ्नु र प्रयास गरिरहनु एउटा असली मर्दको पहिचान हो।”

यो जितसँगै ३५ वर्षीय जोशुआलाई फेरि विश्व बिजेता बन्ने बाटो खुलेको छ। उनी अब आफ्नो गुमेको उपाधि फिर्ता लिन अर्को ठूलो खेलको तयारीमा लाग्नेछन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि विमानबाट यो खेल हेरेको बताउँदै जेक पलको साहस र जोशुआको प्रतिभाको प्रशंसा गरेका छन्। सोही रात भएको अर्को खेलमा ५० वर्षीय एन्डरसन सिल्भाले टाइरन उड्लीलाई पराजित गरेका थिए।

प्रतिक्रिया