
जीवन विज्ञानका संस्थापक सद्गुरुद्वय श्री एल पि भानु शर्मा र रमेश नेपाल आज संयुक्त राष्ट्र संघ भवन न्युयोर्कमा आयोजित दोस्रो विश्व ध्यान दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रममा उपस्थित हुनुभई नेपालको सनातन आध्यात्मिक पहिचानलाई विश्वसमक्ष प्रस्तुत गर्नुभएको छ । बिहान १० बजे प्रारम्भ भएको उद्घाटन सत्रमा सद्गुरु श्री एल पि भानु शर्माले नेपालले सनातनदेखि अभ्यास गर्दैै आएको ध्यानको विधिलाई प्रयोगपरक र वैज्ञानिक तवरबाट समग्र मानव स्वास्थ्य तथा विश्वकल्याणका लागि अपरिहार्य अभ्यास भएको पुष्टि गरेको जानकारी गराउनुभयो । विभिन्न राष्ट्रबाट उपस्थित कुटनीतिज्ञ, आध्यात्मिक संस्थाका प्रतिनिधि संयुक्त राष्ट्र संघका कर्मचारी तथा विभिन्न देशबाट अमेरिकामा आई विभिन्न आध्यात्मिक संस्थामा संलग्न सहभागीकासहित करीब सात सय जनाको उपस्थिति रहेको समारोहमा बोल्नुहुँदै नेपालले ध्यानका क्षेत्रबाट विश्वलाई नेतृत्व दिन सक्ने गरी अभ्यास गराउने संस्था तथा प्रशिक्षकहरु तयार गरिसकेको जानकारी गराउँदै हरेक सहयोगका लागि
नेपाल तयार रहेको बताउनुभयो । समाराेहमा जीवन विज्ञान गुरूकूलका संरक्षक गुरूमा देवी शर्मा सहभागी हुनुहुन्थ्यो ।
दोस्रो सत्रमा सद्गुरु श्री रमेश नेपालले सहभागीहरुलाई ध्यानका गहिरा बिधिका सैद्धान्तिक जानकारी दिनुहुँदै व्यावहारिक अभ्यास गराउनुभयो । सद्गुरु श्री भानु शर्माले ध्यानका विविध पक्ष र व्यक्तिको समग्र रुपान्तरणमा ध्यानको वास्तविक प्रभावबारे विश्लेषण गर्नुभयो ।
नेपालसहित विश्वका ६ मुलुकले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा घोषणा गर्न संयुक्त राष्ट्र संघमा गत वर्ष प्रस्ताव गरेअनुसार सन् २०२४ को फ्रेबुअरीमा संयुक्त राष्ट्र संघको महासभाले डिसेम्बर १ लाई विश्व ध्यान दिवस घोषणा गरेको हो । नेपालका तर्फबाट जीवन विज्ञानले पहिलोपटक भाग लिएको यस समारोहमा जीवन विज्ञानका तर्फबाट अमेरिकामा रहेका प्रशिक्षक तथा साधकसहित करीब एक सय जनाको सहभागिता रहेको थियो ।
आजै साँझ सद्गुरुद्वय तथा गुरुमा संयुक्त राष्ट्र संघीय उच्चायोग न्युयोर्कमा आयोजित समारोहमा सरिक हुनुभयो ।
यसै बीच विश्व ध्यान दिवसका अवसरमा आगामी डिसेम्बर २१ तरिख आइतबार नेपालका विभिन्न प्रदेश तथा नेपालबाहिर ३५ देशका राजदूताबासहरुमा जीवन विज्ञानका प्रशिक्षकबाट सामुहिक ध्यान गराउने कार्यको तयारी पूरा भएको जीवन विज्ञानले जनाएको छ । आइतबार जीवन विज्ञानका दुवै संस्थापक सद्गुरु तथा जीवन विज्ञान गुरुकूलका संरक्षक गुरुमा देवी शर्मा वासिङ्टन डी सी स्थितनेपाली दूताबासले आयोजना गरेको ध्यान दिवसमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । अमेरिकाका
विभिन्न समयक्षेत्रमा जीवन विज्ञानबाट निशुल्क रुपमा सञ्चालन भइरहेका दैनिक योगाभ्यास तथा ध्यान साधना प्रयोगशालाले ध्यान दिवसका अवसरमा विशेष कार्यक्रमसहित सामुहिक ध्यान गराउनेछन्।
आइतबार नै जीवन विज्ञानका संस्थापक सद्गुरु श्री एल पि भानु शर्माको जन्मोत्सव कार्यक्रम राधाकृष्ण मन्दिर पोटोम्याक मेरिल्यान्डमा हुने कुरा जीवन विज्ञान अमेरिकाले जनाएको छ । अपराह्न ४ बजेदेखि ६ बजेसम्म हुने सो कार्यक्रममा सहभागी हुनका लागि शनिबार साँझसम्म नाम दर्ता गर्न जीवन विज्ञान अमेरिकाले स्थानीय जीवन विज्ञानका प्रशिक्षक तथा साधक एवं शुभचिन्तकलाई अनुरोध गरेको छ । नाम दर्ताका लागि गुगल फाराम स्थानीय जीवन विज्ञान प्रशिक्षकसँग अनुरोध गर्न पनि जीवन विज्ञान अमेरिकाले जानकारी दिएको छ ।

सद्गुरुद्वय आगामी जनवरी २ देखि टेक्सासको डालसमा जीवन विज्ञान अमेरिकाले आयोजना गरेको सप्ताहव्यापी चक्रविज्ञान सञ्चालन गर्न डिसेम्बर २६ मा टेक्सास प्रस्थान गर्नुहुनेछ । चक्र विज्ञान साधनामा भाग लिन इच्छुक व्यक्तिले नाम दर्ता गराउन जीवन विज्ञान अमेरिकाको वेभसाइटमा गएर फाराम भर्न जीवन विज्ञान अमेरिकाले सबैमा आह्वान गरेको छ ।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरू श्री एल पि भानु शर्माले दोस्रो विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्र संघमा प्रस्तुत गर्नुभएका अभिव्यक्तिको पूर्ण पाठ
महामहिमज्यूहरू,
विभिन्न मुलुकका माननीय प्रतिनिधिज्यूहरू,संयुक्त राष्ट्रसंघका विशिष्ट सहकर्मीहरू, हाम्रो साझा मानवीय भविष्यका आदरणीय प्रतिनिधिहरू,
यस ऐतिहासिक अवसर—दोस्रो विश्व ध्यान दिवस—मा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । साथै, यति भव्य एवं गरिमामय कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजकहरूप्रति गहिरो कृतज्ञता प्रकट गर्दछु ।
आज म तपाईंहरूको सामु हिमालयबाट उदाएको एक स्वर—नेपालबाट उभिएको छु । विश्व नक्सामा सानो देखिने यो राष्ट्र युगौँदेखि एउटा शाश्वत प्रश्नमाथि गम्भीर चिन्तन गर्दै आएको भूमि हो—
मानवता कसरी शान्ति, शक्ति, विवेक र करुणालाई एकैसाथ आत्मसात गर्दै जीवन यापन गर्न सक्छ ?
१. हाम्रो युगको गहिरो चुनौती
हामी आज असाधारण उपलब्धिहरूको युगमा बाँचिरहेका छौँ । विज्ञान, प्रविधि र सञ्चारको क्षेत्रमा मानव सभ्यताले
अभूतपूर्व प्रगति हासिल गरेको छ । तर, यसै प्रगतिका बीच मानवता पहिलेभन्दा बढी चिन्तित र अशान्त देखिन्छ ।
हामी भौतिक रूपमा झन् धेरै जोडिएका छौँ, तर मानसिक र भावनात्मक रूपमा गहिरो ध्रुवीकरणमा फसेका छौँ ।
यस अवस्थाले केही महत्वपूर्ण सत्य उजागर गर्दछ— आजका धेरै विश्वव्यापी चुनौतीहरू केवल बाह्य मात्र होइनन्; ती
गहिरो रूपमा आन्तरिक पनि हुन्। द्वन्द्व इतिहास, अर्थतन्त्र र राजनीतिबाट आकार लिन्छ, तर तिनको अनुभव, विस्तार
र समाधान अन्ततः मानव मनमार्फत् नै हुन्छ ।
यो सरल तर गहिरो सत्यलाई विचार गरौँ: दैनिक दाँत माझ्ने जस्तो सामान्य र स्वाभाविक कार्यलाई सहज बनाउन पनि
केही समय निरन्तर अभ्यास चाहिन्छ । त्यसो भए, दैनिक ध्यान, मानसिक स्वास्थ्य, आत्मअनुशासन र साझा मानवीय
मूलमा फर्किने अभ्यासबिना— दैनिक रूपमा ध्यान गर्ने अनुशासन, समग्र कल्याणका बानी र समान मानवीय भावना
अभ्यास नगरी नेताहरूले वार्ताको सहमतिका लागि टेबलमा अचानक शान्ति र करुणा अभिव्यक्त गर्ने अपेक्षा किन
गरिन्छ ? यहाँ कुरा कुनै समुदाय वा पहिचानको होइन—पहिले मानव हुने चेतनाको हो ।शान्ति निर्माण पनि कुनै महान
बानीझैँ हो— निरन्तर अभ्यासबिना त्यो स्वभाव बन्न सक्दैन ।
नेपालमा पनि हामीले भूकम्प, राजनीतिक संक्रमण र आर्थिक कठिनाइजस्ता सङ्कट भोगेका छौँ । तर हाम्रो ध्यानपरक
र आत्मचिन्तनशील परम्पराले हामीलाई विपत्तिका बीच पनि धैर्य, सहनशीलता र करुणा जोगाइराख्न सहयोग गरेको छ।
२. विश्व ध्यान दिवस
डिसेम्बर २१ लाई विश्व ध्यान दिवस का रूपमा संयुक्त राष्ट्रसंघले ऐतिहासिक मान्यता दिनुले विश्व चेतनामा आएको
गहिरो परिवर्तनको सङ्केत गर्दछ । दशकौँसम्म सन्धि, प्रतिबन्ध र विकास कार्यक्रमजस्ता बाह्य संरचनामा मात्र केन्द्रित
भएपछि, यस मान्यताले ध्यान परम्पराबाट सहस्राब्दीदेखि अभ्यास हुँदै आएको— दीगो शान्तिका लागि संस्थागत
सुधारसँगै आन्तरिक रूपान्तरण अनिवार्य छ भन्ने सत्यलाई स्वीकार गरेको छ
विभिन्न महादेशका राष्ट्रहरूको सह–प्रस्तावमा पारित यो प्रस्तावले ध्यान र सजगताले विश्वव्यापी मानसिक स्वास्थ्य र
कल्याण अभियान सुदृढ पार्छ भन्ने स्पष्ट रूपमा स्वीकार गरेको छ ।
यो केवल प्रतीकात्मक कदम होइन— आन्तरिक स्थिरताले बाह्य शान्तिलाई बलियो बनाउँछ भन्ने व्यावहारिक स्वीकृति
हो ।
विश्व ध्यान दिवसले यो सन्देश दिन्छ कि मनलाई जागृत गर्नु संसारबाट पलायन होइन— बरु अझ विवेकशील, करुणामय र प्रभावकारी रूपमा संसारसँग संलग्न हुनु हो ।
३. नेपालको मौन योगदान
नेपालको इतिहास आत्मचिन्तन, संयम र सहअस्तित्वबाट परिभाषित छ । यो त्यही भूमि हो जहाँ गौतम बुद्धको जन्म
भयो—आस्थाको प्रचारकका रूपमा होइन, तर शाश्वत सत्यका खोजीकर्ताका रूपमा ।
हिमाली परम्पराहरूले शताब्दीयौँसम्म एउटा गहिरो प्रश्नको खोज गरे— मन कसरी काम गर्छ ? र मानवले एकअर्कालाई वा आफूलाई हानि नगरी कसरी पूर्ण जीवन बाँच्न सक्छ ? यस खोजका परम्पराबाट ध्यान, सन्तुलन, करुणा र आत्म–नियन्त्रणजस्ता व्यावहारिक विधिहरू विकसित भए ।
यी अभ्यासहरूले पूर्व र पश्चिम सभ्यतालाई जोड्ने सेतुको काम गरेका छन्—
प्राचीन ज्ञान, जुन आज हार्वर्ड, स्ट्यानफोर्ड र अक्सफोर्डजस्ता संस्थानहरूमा आधुनिक न्यूरोसाइन्सद्वारा पुष्टि हुँदैछ । यी कुनै एक संस्कृतिका सम्पत्ति होइनन्— यी सम्पूर्ण मानवताका साझा धरोहर हुन् ।
नेपाल आज संयुक्त राष्ट्रसंघसमक्ष मानवताले अन्वेषण गरेको एउटा अनुभव बाँड्न आएको छ— शान्ति सम्झौताबाट
भन्दा जागृत मनबाट दिगो हुन्छ ।
४. प्राचीन ज्ञानदेखि आधुनिक विज्ञानसम्म
नेपालले यस धरोहरलाई संग्रहालयको वस्तुका रूपमा होइन, समकालीन चुनौतीसँग अनुकूलित जीवित अभ्यास का रूपमा जोगाउँदै आएको छ । आज नेपालभर अनुसन्धान केन्द्र, ध्यान संस्थान र साधक सञ्जालहरूले सहस्राब्दी पुरानो ध्यान–विज्ञानलाई प्रमाणमा आधारित कार्यक्रमहरूमा रूपान्तरण गरिरहेका छन् ।
यसै पारिस्थिक प्रणालीमा जीवन विज्ञान जस्ता संस्थाबाट विभिन्न पहल विकसित भएका छन्, जसले आजका
समस्यालाइ आत्मसात गर्ने गरी आध्यात्मिक अभ्यास प्रस्तुत गरेका छन् ।
५. ऊर्जा क्षेत्र (Energy Field)
प्राचीन परम्पराले बुझेको र आजका साधकहरूले प्रमाणित गरिरहेको सत्य के हो भने—
हरेक मानवभित्र एउटा ऊर्जा क्षेत्र विद्यमान छ, जुन जागृत हुन पर्खिरहेको छ । यो ऊर्जा जीवित विद्युत् प्रवाहझैँ हो, जसले शरीर र मन दुवैलाई उज्यालो बनाउँछ । आफ्नै ऊर्जा क्षेत्रमा प्रवेश गर्दा तत्काल दुई परिणाम देखिन्छन्— शान्ति र ऊर्जा । यसले मौन र आनन्दको केन्द्र सक्रिय गर्छ । यो ऊर्जाक्षेत्र मेरुदण्डभित्र अवस्थित ऊर्जा–केन्द्रहरू (चक्रहरू) का रूपमा आफू प्रस्तुत भइरहेको हुन्छ ।
योग, प्राणायाम र ऊर्जा ध्यानको अभ्यासद्वारा हामी मनलाई यही क्षेत्रमा प्रवेश गर्न सिकाउँछौँ ।
यो क्षेत्र यति बुद्धिमान् हुन्छ कि यसले हाम्रो सम्पूर्ण जीवनलाई नयाँ चेतनाअनुसार पुनर्संरचना गर्छ । यस असीम बुद्धिमा प्रवेश गर्ने विधिलाई नै जिवन विज्ञानमा ध्यान हामी ध्यान भन्दछौँ ।
यो कुनै दार्शनिक कल्पना होइन— यो मानवीय सम्भावनाको स्थापित विज्ञान हो, लाखौँ साधकद्वारा प्रमाणित भएको।
योगमार्फत् शारीरिक सन्तुलन— शरीर–मनको सन्तुलन पुनःस्थापित गर्दै ऊर्जाप्रवाहलाई जागृत गर्न श्वास अभ्यासमार्फत् भावनात्मक नियमन— आन्तरिक असन्तुलनलाई शान्त पार्दै मनको स्थिरता प्राप्त गर्न ध्यानमार्फत मानसिक प्रशिक्षण— आत्मभित्र विद्यमान ऊर्जा क्षेत्रलाई सक्रिय गर्दै असीमित चेतना जागृत गर्न
मानव जीवन रोग, भय, द्वन्द्व र दुःखका लागि होइन । यो मानवीय चेतनालाई पूर्ण रूपमा जागृत गर्ने एक अवसर हो।
व्यक्ति, समाज र राष्ट्रहरूले हरेक मानिसलाई यस आयाममा प्रवेश गर्ने वातावरण सिर्जना गर्नुपर्छ— उनीहरूको शान्त र समृद्ध जीवनका लागि ।
मानव इतिहासको अर्को पाटो के हो भने— हामी सधैँ व्यक्तिगत सामाजिक र विश्वजनीन समस्याका समाधान आफूबाहिर खोजिरहेका छौँ । हामी हाम्रो वास्तविक क्षमताभन्दा कम जीवन जिउनका लागि सामाजिक र मानसिक रूपमा पूर्व तयारीका साथ बाँचिरहेका छौँ तर प्रत्येक व्यक्तिको सचेत निर्णयबाट उसले जीवनमा परिवर्तन गर्न सक्छ । यो ज्ञान हामीबाट हराएको होइन— केवल हामीले बिर्सिएका छौँ । ढोका ढकढक्याउनुहोस्— तपाइँका लागि ढोका खुल्छ ।
यसले हामीलाई सचेत निर्णय गर्न उत्प्रेरित गर्दछ, यही कारण अध्यात्म आज अत्यन्त आवश्यक छ ।
व्यक्तिहरू आफ्नो मन र चेतनामा केन्द्रित हुँदा, समुदायहरूको एकता बलियो हुन्छ । नेताहरू आन्तरिक रूपमा स्थिर रहँदा, संवाद गहिरो बन्छ र द्वन्द्व नरम हुन्छ । जब नेता आन्तरिक रूपमा स्थिर हुन्छन्, संवाद गहिरिन्छ र द्वन्द्व शिथिल बन्छ ।
६. नेपालबाट विश्वका लागि जागरणको आह्वान
डिजिटल युगमा, विवेक तनावभन्दा छिटो फैलिनुपर्छ । त्यसैले नेपाल विश्वलाई जागरणको आह्वान गर्दछ— स्पष्टता,
करुणा र सजग एवं सचेत नेतृत्व जन्माउने अभ्यास प पुनर्खोजका लागि ।
यो आह्वान धर्मान्तरण होइन—जागरण हो ।
सोचको जागरण, ताकि चेतनाले तत्काल प्रतिक्रिया नदिँदै गहिरो समझदारीसहित विद्यमान अवस्थालाई हेर्न सकोस् ।
भावनात्मक चेतनाको जागरण— जसले हृदयलाई करुणामय मार्गदर्शन प्रदान गरोस् ।
सचेत नेतृत्वको जागरण— जसबाट गरिने निर्णयहरू उत्तेजना वा अशान्तिबाट नभएर सजगता र चेतनाबाट जन्मन सकून् ।
विश्वव्यापी विद्युतीय प्रविधि र प्रशिक्षण कार्यक्रमका माध्यमबाट नेपालले प्राचीन ज्ञानलाई समसामयिक जीवनका लागि व्यावहारिक बनाइरहेको छ— संसारभरि मानिसहरू जहाँ छन्, जहाँ उनीहरू सबैभन्दा धेरै तनाव र सूचनाभारको सामना गरिरहेका छन्, त्यहाँ पुगेर सहयोग पुर्याइरहेको छ ।
संसारका लागि नेपालको एउटा विनम्र प्रस्ताव हो— मानव मनका लागि खुला आश्रयस्थल, जहाँ सीमा छैन र पहुँच
सबैका लागि सुनिश्चित छ । यसले सबैको भलाइ तथा समग्र कल्याणको प्रवर्द्धन गर्दछ ।
७. विश्व नेतृत्वका लागि किन यसको महत्व छ
महामहिमज्यूहरू, आजको नेतृत्व केवल संकटहरूले मात्र परीक्षण हुँदैन, तर ती संकटप्रति दिइने ध्यानको गुणस्तरले पनि
परीक्षण गर्दछ ।
दुई वार्ताकारलाई विचार गर्नुहोस्, जो एउटै उच्च–जोखिमको द्वन्द्वको सामना गर्दैछन्—
तनावयुक्त नेता रक्षात्मक प्रतिक्रिया दिन्छन्, अभिव्यक्तिलाई तीव्र बनाउँछन्, र अन्ततः खाली हात वार्ताबाट
बाहिर निस्किन्छन् ।

केन्द्रित नेता गहिरो ध्यानपूर्वक सुन्छन्, साझा हित देख्छन्, विश्वास क्रमशः निर्माण गर्छन्, र रचनात्मक
समाधानहरू फेला पार्छन् ।
विश्वव्यापी अध्ययनहरूले यसलाई पुष्टि गर्छन् । मेटा–विश्लेषणहरूले देखाउँछन् कि सजगताको अभ्यास (mindfulness
practice) ले भावनात्मक नियमन २०–३०% सुधार गर्छ र तनावमा निर्णय क्षमतामा १५–२५% सुधार गर्छ ।
ध्यान जिम्मेवारीबाट पलायन होइन । यो जिम्मेवारीपूर्ण कार्यका लागि तयारी हो । आन्तरिक कल्याणले नेतृत्वलाई
बलियो बनाउँछ ।
संयुक्त राष्ट्रसंघको विश्व ध्यान दिवसप्रतिको मान्यताले यस सत्यलाई पुष्टि गर्दछ— हाम्रो भित्री जीवनको गुणस्तरले
हाम्रो बाह्य संसारको गुणस्तरलाई प्रत्यक्ष रूपले आकार दिन्छ ।
८. नेपालको प्रस्ताव: मानसिक कल्याणलाई विश्व पूर्वाधारको रूपमा
नेपालले ध्यानलाई मानव विकासको मूलभूत आधारभूत पूर्वाधारको रूपमा अंगीकार गर्दै विश्वका राष्ट्रहरूका लागि प्रमाणित अभ्यास र मोडेलहरू प्रस्तुत गर्दछ—
शिक्षा समाकलन (Education integration) — बालबालिकालाई शैक्षिक अध्ययनसँगै भावनात्मक नियन्त्रण (emotional regulation) सिकाइन्छ, र सानै उमेरदेखि उनीहरूभित्रको बुद्धिमत्ता जागृत गरिन्छ ।
स्वास्थ्य साझेदारी (Healthcare partnerships) — मानसिक स्वास्थ्य र रोकथामको हेरचाह (preventive care) का लागि ध्यान अभ्यासलाई समावेश गरिन्छ, जसले ऊर्जाको क्षेत्र (energy field) को सन्तुलनले शारीरिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा मान्यता दिन्छ ।
नेतृत्व क्षमता विकास (Leadership capacity-building) — कूटनीतिज्ञ, कार्यकारी, र नेताहरूलाई साधना र ध्यान अभ्यास मार्फत् प्रशिक्षण दिइन्छ, जसले उनीहरूलाई तिनका असीमित बुद्धिमत्ता (unbounded intelligence) प्रयोग गरी विवेकपूर्ण निर्णय लिन सक्षम बनाउँछ ।
विश्वव्यापी पहुँच (Global accessibility) — यी अभ्यासहरू प्रशिक्षण कार्यक्रम र डिजिटल स्रोतहरूमार्फत्सी मान्तकृत र पिछडिएका समुदायसम्म पुर्याइन्छ ।
यी अभ्यास खेजिरहेका देशहरूका लागि यी अभ्यासहरूलाई अघि बढाउन नेपालसँग आवश्यक पूर्वाधार र संस्थाहरू तयार छन् ।
यी प्रयासहरू नैतिक र आध्यात्मिक, वैज्ञानिक र धार्मिकजस्ता विविध विश्व दृष्टिकोणहरूसँग मेल खाँदै सबैका लागि उपयोगी हुन्छन् ।
९. हिमालयबाट एउटा चिन्तन
हिमालयबाट एउटा सन्देशसहित म आफ्नो भनाइ समाप्त गर्न चाहन्छु—
जब मन शान्त हुन्छ, जब ऊर्जा क्षेत्र जागृत र सन्तुलित हुन्छ तब हृदय अझ करुणामय बन्छ ।
जब करुणाले कार्यलाई मार्गदर्शन गर्छ, शान्ति सम्भवमा परिणत हुन्छ— विश्वासको सिद्धान्तका रूपमा होइन, अभ्यासद्वारा अनुभव गर्नका लागि; तपाईं जे गर्नुहुन्छ त्यसको विकल्पको रूपमा होइन, तर त्यसलाई अझ राम्रोसँग गर्नमा मूल आधारका रूपमा ।
संयुक्त राष्ट्रसंघद्वारा विश्व ध्यान दिवस को मान्यता मानवताको यात्रामा एउटा महत्वपूर्ण कोशेढुङ्गा हो । यो स्वीकारोक्ति कि— शान्ति केवल समझदारी वा सम्झौताबाट सुरु हुँदैन, शान्ति सुरु हुन्छ सजगता (awareness) बाट ।
शान्ति तब सुरु हुन्छ जब हामी आफ्ना भित्री असीमित बुद्धिमत्तामा पहुँच प्राप्त गर्छौं ।
नेपालबाट विश्वका लागि, यो हाम्रो विनम्र आह्वान हो— सबैमा स्मरण गराउने कार्य हो कि, संसारलाई स्वस्थ बनाउन
हामीले मनलाई जागृत गर्न र त्यसलाई आकार दिने ऊर्जा सक्रिय गर्न सिक्नै पर्छ ।
यी अभ्यासहरू प्रत्यक्ष अनुभव गर्न इच्छुक सबैका लागि नेपाल हाम्रो प्रशिक्षण कार्यक्रम, विश्वव्यापी प्लेटफर्म र
प्रशिक्षकहरू मार्फत स्वागत गर्दछ ।
विश्वका लागि यो नेपालको प्रतिबद्धता हो। यो हाम्रो जिम्मेवारी हो । यो हाम्रो उपहार हो ।
धन्यवाद
प्रतिक्रिया