
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एउटा महत्वपूर्ण सम्झौताको घोषणा गरेका छन् । यस अन्तर्गत विश्वका ९ वटा ठूला औषधि उत्पादक प्रतिष्ठानहरूले अमेरिकामा आफ्ना औषधिको मूल्य घटाउन सहमति जनाएका छन्।
अहिलेसम्म अमेरिकामा धेरैजसो औषधिको मूल्य अन्य विकसित देशहरू (जस्तै युरोप वा क्यानडा) को तुलनामा निकै महँगो थियो। अब यो सम्झौता भएपछि, ती प्रतिष्ठान(कम्पनी)हरूले अमेरिकामा पनि त्यही “सबैभन्दा सस्तो” मूल्यमा औषधि उपलब्ध गराउनु पर्नेछ।
यसबाहेक, यी कम्पनीहरूले भविष्यमा बनाउने सबै नयाँ औषधि पनि “सबैभन्दा मनपर्ने राष्ट्र” अर्थात् सबैभन्दा सस्तो देशले तिर्ने दरमै सार्वजनिक हुनेछन्। यो नियम मेडिकियर र मेडिकेड , निजी बीमा तथा नगद तिर्ने सबै रोगीमा लागू हुनेछ।
यी औषधि उत्पादन प्रतिष्ठानहरू एमजेन, ब्रिस्टल मायर्स स्क्विब, बोहरिङ्गर इङ्गेलहेम, जेनेनटेक, गिलियड साइन्सेज, जिएसके , मर्क, नोभार्टिस र सानोफीले अब मेडिकेड (न्यून आय भएकाहरूका लागि स्वास्थ्य कार्यक्रम) अन्तर्गतका औषधिको मूल्य घटाएर अन्य विकसित देशहरूमा लिइने मूल्य सरह बनाउनेछन्।”
९ वटा नाम चलेका कम्पनीहरूले यो नयाँ नियम मान्ने प्रतिबद्धता जनाएका छन्। यसअघि नै फाइजर र एस्ट्राजेनेका जस्ता ५ प्रतिष्ठानहरू यस्तो सम्झौतामा आइसकेका थिए।
यस सम्झौताअन्तर्गत कम्पनीहरूले ट्रम्प-आरएक्स (TrumpRx)नामको नयाँ मन्च (प्लेटफर्म)मा जनवरीदेखि सिधै बिरामीलाई औषधि बेच्नेछन्। केही प्रतिष्ठान हरूले रगत पातलो बनाउने औषधि, प्रतिजैविक (एन्टिबायोटिक )जस्ता महत्वपूर्ण औषधिका सामग्री पनि सरकारलाई दान गर्नेछन्।
राष्ट्रपति ट्रम्पका अनुसार उनले १०% कर शुल्कको चेतावनी दिएपछि प्रतिष्ठानहरू सम्झौतामा आउन बाध्य भए।
प्रतिक्रिया