
अमेरिकाको रोड आइल्याण्डमा स्थापित प्रख्यात ब्राउन बिश्वबिद्यालय (युनिभर्सिटी)मा गोली चलाएर दुई विद्यार्थीको हत्या गर्ने र धेरैलाई घाइते बनाउने संदिग्ध व्यक्ति मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार ती व्यक्ति न्यु ह्यामसरको एउटा भण्डारण गृहमा मृत भेटिएका हुन्।
अनुसन्धान टोलीका अनुसार यी व्यक्तिले ब्राउन बिश्वबिद्यालयमा मात्र नभई, केही दिनअघि म्यासचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी )का एक प्रसिद्ध प्राध्यापकको पनि हत्या गरेको आशंका गरिएको छ।
४७ वर्षीय भौतिकशास्त्री नुनो एफ.जी. लौरेरोको गत सोमबार आफ्नै घरमा गोली हानी हत्या गरिएको थियो। सुरुमा यी दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताइए पनि अहिलेको अनुसन्धानले दुवै अपराधमा एउटै व्यक्तिको हात हुन सक्ने देखाएको छ।
ब्राउन बिश्वबिद्यालयको इन्जिनियरिङ भवनमा शनिबार भएको उक्त दुखद घटनामा दुई विद्यार्थीले ज्यान गुमाएका थिए भने ९ जना घाइते भएका थिए।
आक्रमणकारी घटनापछि फरार थिए। एपीका अनुसार प्रहरीले ती व्यक्तिको परिचय र मृत्युको कारणबारे विस्तृत विवरण सार्वजनिक नगरे तापनि यो मृत्युसँगै एउटा डरलाग्दो श्रृङ्खलाबद्ध अपराधको अन्त्य भएको अनुमान गरिएको छ। अहिले एफबीआई र स्थानीय प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रिया