
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा एउटा नयाँ र निकै विवादास्पद काम गरेका छन्। उनले ह्वाइट हाउसको पश्चिम क्षेत्र जाने बाटोमा पूर्व राष्ट्रपतिहरूको तस्बिर मुनि पित्तलका तस्बिरहरु राख्न लगाएका छन्, जसमा ती राष्ट्रपतिहरूको बारेमा अपमानजनक र राजनीतिक टिप्पणीहरू लेखिएका छन्। ट्रम्पले यस ठाउँलाई “प्रेसिडेन्सियल वाक अफ फेम” अर्थात् राष्ट्रपतिहरूको प्रसिद्धि मार्गनाम दिएका छन्।
यी झुन्ड्याईका तस्बिर चौघेरो (फ्रेम प्लेट)हरूमा लेखिएका कुराहरू ट्रम्पले आफैँ लेखेको ह्वाइट हाउसले जनाएको छ। विशेष गरी पूर्व राष्ट्रपति जो बाइडेन र बाराक ओबामाको बारेमा लेखिएका कुराहरू निकै आक्रामक छन्। बाइडेनको तस्बिर मुनि उनलाई “अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति” भनिएको छ र उनले चुनाव धाँधली गरेर जितेको जस्ता प्रमाणित नभएका आरोपहरू लगाइएको छ।

एबिसीन्यूजका अनुसार बाइडेनको मानसिक अवस्था र उनले हातले हस्ताक्षर गर्नुको साटो यन्त्र प्रयोग गरेको विषयमा पनि व्यङ्ग्य गरिएको छ।
त्यस्तै, बाराक ओबामाको बारेमा लेखिएको तस्बिर मुनी उनलाई “इतिहासकै सबैभन्दा विभाजित गर्ने नेता” भनिएको छ। ट्रम्पले सन् २०१६ को आफ्नो चुनावी अभियानमा ओबामाले जासुसी गरेको आरोप समेत त्यहाँ उल्लेख गरेका छन्। रोचक कुरा के छ भने, बिल क्लिन्टन र ओबामा दुवैको तस्बिरमा ट्रम्पले हिलारी क्लिन्टन आफूसँग चुनाव हारेको कुरा लेख्न छुटाएका छैनन्।

ट्रम्पले ह्वाइट हाउसमा भौतिक परिवर्तनहरू पनि गरिरहेका छन्। उनले प्रसिद्ध ‘रोज गार्डेन’ बगैचामा नयाँ मूर्तिहरू राखेका छन्, ओभल अफिस(कार्यालय)मा सुनौला रङका सजावटहरू थपेका छन् र ह्वाइट हाउसको पूर्वी भाग अर्थात् ‘इस्ट विङ्ग’ भत्काएर एउटा ठूलो सभाकक्ष बनाउँदैछन्।
यी परिवर्तनहरूलाई धेरैले ऐतिहासिक संरचनाको अपमान भनेका छन् भने ट्रम्पका समर्थकहरूले यसलाई नयाँपन भनेका छन्। ओबामा र बाइडेनले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया