दान गरिएका शरीरका अंगहरू चोरेर बेच्ने हार्भर्ड चिकित्सा बिद्यालयका पूर्व कर्मचारीलाई ८ वर्षको कैद सजाय

इनेप्लिज २०८२ पुष २ गते ११:४८ मा प्रकाशित

अमेरिकाको बिश्व प्रसिद्ध विश्वविद्यालय हार्भर्ड चिकित्सा बिद्यालय (मेडिकल स्कुल)को मुर्दाघरमा काम गर्ने पूर्व प्रवन्धक सेड्रिक लजलाई अदालतले ८ वर्षको कारागार सजाय सुनाएको छ। उनले विज्ञान र अनुसन्धानका लागि मानिसहरूले दान गरेका मृत शरीरका अंगहरू लुकीछिपी चोरेर बेच्ने गरेका थिए।

उनले सन् २०१८ देखि २०२० सम्म, ५८ वर्षीय लजले बिश्वबिद्यालयको जानकारी बिना नै मस्तिष्क, मुटु, छाला र टाउको जस्ता अंगहरू चोरेर आफ्नो घरमा लैजाने गर्थे। त्यसपछि उनले ती अंगहरू अमेरिकाका विभिन्न राज्यमा बस्ने ग्राहकहरूलाई बेच्ने गरेका थिए। कतिपय ग्राहकले त ती अंगहरू फेरि नाफा खाएर अरूलाई समेत बेचेको पाइयो।

यस काममा उनलाई उनकी ६५ वर्षीया श्रीमती डेनिस लजले पनि साथ दिएकी थिइन्। उनलाई पनि अदालतले एक वर्षको जेल सजाय दिएको छ।

यो घटनालाई प्रहरीले “अत्यन्तै घृणित अपराध” भनेको छ। मानिसहरूले आफ्नो मृत्युपछि विज्ञानको प्रगतिका लागि शरीर दान गर्छन्, तर त्यही शरीरको व्यापार गरेर लजले मृतकका परिवारको भावनामा ठुलो चोट पुर्‍याएका छन्।

हुलाक सेवामार्फत मानव अंग पठाउँदा कर्मचारी र ग्राहकको स्वास्थ्यमा समेत खतरा हुने कुरा अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया