‘अपरिभाषित’ गाउने चर्चित सांगीतिक समूह स्वरको ‘बादल सरी’ यात्रा २०२५-२६ सांगीतिक कार्यक्रम भर्जिनियामा हुने

इनेप्लिज २०८२ पुष २ गते २:३५ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा नेपालका चर्चित सांगीतिक समूह स्वरको ‘बादल सरी’ यात्रा २०२५-२६ सांगीतिक कार्यक्रम हुने भएको छ ।

आउदै गरेको अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्या अर्थात् डिसेम्बर ३१ का दिनलाई बिशेष ध्यान दिदै भर्जिनिया राज्यको स्टर्लिङमा चर्चित सांगीतिक समूह स्वरको “बादल सरी यात्रा २०२५/२६” को भव्य सांगीतिक प्रस्तुति हुने आयोजकले ईनेप्लिजलाई बताएका छन् ।

आयोजकका अनुसार कार्यक्रम बुधबार, डिसेम्बर ३१ का दिन स्टर्लिङको स्पोर्ट्सप्लेक्स डलसमा आयोजना गरिने छ । यो कार्यक्रम ग्लोबल फ्यामिली फाउन्डेसन नामक गैर-नाफामूलक संस्थाले आयोजना गरेको हो।

यो संस्था संस्कृति, शिक्षा र रचनात्मकताको माध्यमबाट युवाहरूलाई संलग्न गराउन र सशक्त बनाउन प्रतिबद्ध छ। कार्यक्रमको व्यवस्थापन स्थानीय रुपमा आवरएक्स इन्टरटेन्टमेन्टले गर्ने छ ।

दर्शकहरूका लागि ढोका बेलुका ७ बजे खुल्नेछ भने मुख्य प्रस्तुति ८ बजे बाट सुरु हुनेछ। कार्यक्रमको टिकट मूल्य प्रति व्यक्ति ४५ डलर मात्र तोकिएको छ। यस सांगीतिक कार्यक्रमबाट नयाँ वर्षलाई एकता, रचनात्मकता र सांस्कृतिक गर्वका साथ स्वागत गरिनेछ।

आधुनिक नेपाली संगीतमा छोटो समयमै चर्चामा आएको पप-रक ब्यान्ड स्वरले दर्शकलाई झुमाउनेछ।

सन् २०२१-२०२२ मा गठन भएको यो समूह आफ्नो पहिलो लोकप्रिय हिट “अपरिभाषित” बाट रातारात लोकप्रिय भएको थियो। यो सङ्गीत मण्डल (ब्यान्ड)को संगीतमा इन्डी र पप-रकको मिश्रण सुन्न सकिन्छ।

SWAR अर्थात् स्वरमा स्वप्निल शर्मा (मुख्य गायक), रोहित शाक्य (गिटार र संगीत निर्माण), र गौतम तण्डुकार (ड्रम्स) मुख्य सदस्यको रूपमा छन्। उनिहरूका “संसार,” “बिस्तारै,” र “उडिँरहेछन्” जस्ता चर्चित गीतहरू कार्यक्रममा सुन्न पाइनेछ।

आयोजकले सबैलाई यो मौका नगुमाउनु हुन् सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया