भाषणका अंशहरू जोडेर झुक्याएको ट्रम्पको आरोप: बीबीसीले भन्यो- ‘अदालतमा आफ्नो बचाउ गर्नेछौं।’

इनेप्लिज २०८२ पुष १ गते १७:५२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती सार्वजनिक प्रसारण संस्था बीबीसीविरुद्ध मानहानी र फ्लोरिडा राज्यको अभ्यास कानुन उल्लङ्घन गरेको दाबीसहित मुद्दा दायर गरेपछि बीबीसीले अदालतमा आफ्नो बचाउ गर्ने मङ्गलबार घोषणा गरेको छ।  

ट्रम्पले २० जनवरी २०२१ को वाशिंगटनमा दिएको भाषणका फरक-फरक भागहरूलाई जोडेर सम्पादन गरिएको एउटा वृत्तचित्तका सम्बन्धमा यो कानुनी कदम चालिएको हो। ट्रम्पले सोमबार फ्लोरिडाको दक्षिणी जिल्ला अदालतमा दायर गरेको मुद्दामा १० बिलियन डलरको क्षतिपूर्ति माग गरेका छन्।  

बीबीसीले आफ्नो बयानमा जारी कानुनी कारवाही बारे थप टिप्पणी नगर्ने जनाउँदै, “हामी यो मुद्दामा आफ्नो बचाउ गर्नेछौं” भनी स्पष्ट पारेको छ।

ट्रम्पका वकिलहरूले आफ्नो उजुरीमा बीबीसीलाई “झूटो, मानहानिकारक, भ्रामक, अपमानजनक, भड्काऊ र दुर्भावनापूर्ण चित्रण” प्रकाशित गरेको आरोप लगाएका छन्। 

मुद्दामा भनिएको छ , बीबीसीले अमेरिकी सॅसद(क्यापिटल )भवनमा दङ्गा हुनुअघि वाशिंगटनमा ट्रम्पले समर्थकहरूलाई दिएको सोही भाषणका दुई फरक श्रव्यदृश्य(क्लिप)हरुलाई  जानाजानी “जोडेर” दर्शकहरूलाई पूर्ण रूपमा भ्रमित पार्ने प्रयास गरेको थियो।

 मुद्दाको दाबी अनुसार, वृत्तचित्रमा जोडेर देखाइएका भाषणका अंशहरू ट्रम्पले लगभग एक घण्टाको अन्तरालमा बोलेका थिए।

यसअघि, ट्रम्पले वृत्तचित्र फिर्ता लिएर, माफी मागेर र “उपयुक्त रूपमा” क्षतिपूर्ति नदिएमा बीबीसीविरुद्ध १ बिलियन डलरको मुद्दा हाल्ने धम्की दिएका थिए। 

सिविएसन्यूजका अनुसार गत नोभेम्बरमा बीबीसीले माफी मागेर खण्डन त प्रकाशित गर्‍यो, तर “मानहानीको दाबीका लागि कुनै आधार छ” भन्ने कुरामा आफूहरू सहमत नभएको बयान दिएको थियो।

प्रतिक्रिया