फेन्टानिल अब ‘महाविनाशकारी हतियार’: राष्ट्रपति ट्रम्पको ऐतिहासिक आदेश

इनेप्लिज २०८२ मंसिर ३० गते २३:५९ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध लागूपदार्थ फेन्टानिललाई “महाविनाशकारी हतियार ” को रूपमा घोषणा गर्दै नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

यस आदेशअनुसार अब फेन्टानिललाई सामान्य औषधि मात्र होइन, रासायनिक हतियार जस्तै खतरनाक वस्तु मानिनेछ। ह्वाइट हाउसले भनेको छ—यसले लागूपदार्थ तस्कर गिरोह र विदेशी संजाल विरुद्ध सबै सरकारी शक्ति प्रयोग गर्न बाटो खोल्छ।

अब पेन्टागन (रक्षा मन्त्रालय) ले न्याय विभागलाई सैनिक स्रोत र प्रविधिबाट सहयोग गर्न सक्नेछ। साथै, फेन्टानिलसँग जोडिएका अपराधमा अझ कडा सजाय हुने सम्भावना बढेको छ।

राष्ट्रपति ट्रम्पका अनुसार, “कुनै बमले पनि फेन्टानिलले जति मानिस मारेको छैन। हरेक वर्ष २ लाखदेखि ३ लाख मानिसको मृत्यु यसकै कारण भइरहेको छ।”

अमेरिकामा १८ देखि ४५ वर्ष उमेरका मानिसको मृत्युको मुख्य कारण फेन्टानिल ज्यादा सेवन बनेको छ। सन् २०२३ मा मात्र १ लाख ७ हजारभन्दा बढी मानिस ज्यादा ओखती सेवनबाट ज्यान गुमाएको जसमा करिब ७०% मृत्यु फेन्टानिलजस्ता ओपिओइडका कारण भएको डिइएले जनाएको छ।

यो आदेश अवैध रूपमा बनाइने र बेचिने फेन्टानिलमा मात्र लागू हुन्छ, अस्पतालमा प्रयोग हुने कानुनी फेन्टानिलमा होइन।

प्रतिक्रिया