नर्थ क्यारोलाइनामा एक सातापछि भेटिइन् मृत अवस्थामा आमा, हत्याको आरोपमा एक जना पक्राउ

इनेप्लिज २०८२ मंसिर ३० गते १२:११ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यकी ३१ बर्षिय आमा फ्रेज्जा माटिस बेकरको हत्या आरोपमा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार बेकर एक सातादेखि बेपत्ता थिइन्। बिहीबार बिहान करिब ९:३५ बजे उनी आफ्नै सवारी साधनभित्र अचेत अवस्थामा भेटिइन्। घटनास्थलमै उनलाई मृत घोषणा गरिएको थियो।

शार्लोट–मेक्लेनबर्ग प्रहरी विभागले आइतबार जानकारी दिँदै ३८ लोरेन्जा थोमस इनम्यान जुनियरलाई यस घटनाको मुख्य शंकास्पद व्यक्ति बताएको छ। उनलाई हत्या, महिलामाथि कुटपिट, र घरेलु हिंसासम्बन्धी सामान्य अपराधमा अभियोग लगाइएको छ।

प्रहरीका अनुसार बेकरको मृत्युको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन। उनी अन्तिम पटक डिसेम्बर ४, बिहीबार राति करिब १० बज्नुअघि आफ्नो खैरो निलो रंगको २००४ होन्डा अकर्ड चलाउँदै देखिएकी थिइन्।

एबिसीन्यूजका अनुसार बेकर हराएपछि परिवारले उनको सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गर्दै खोजी गरिरहेका थिए। उनकी आमाले भावुक हुँदै भनेकी थिइन्, “मलाई मेरो छोरी सकुशल घर फर्किएको मात्र चाहिएको थियो।”

यस घटनाबारे गोप्य रूपमा जानकारी दिन चाहने तथा अन्य कुनै जानकारी छ भने प्रहरीले सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया