
निरन्तरको अत्यधिक वर्षाका कारण आएको बाढीले नदीहरू भरिएपछि राजमार्गहरूमा हिलो पहिरो गएपछि र मानिसहरू पानीमा फसेपछि अमेरिकाको वाशिङ्गटन राज्यमा बिहीबार हजारौं बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सर्न आदेश दिइएको छ।
गभर्नर बब फर्गुसनले “आगामी दिनहरूमा मानिसहरूको ज्यान जोखिममा पर्नेछ” भन्दै चेतावनी दिएका छन्। उनले भने, “हामीले हेरिरहेका बाढीको स्तर ऐतिहासिक हुन सक्छ। यो अवस्था अत्यन्तै अप्रत्याशित छ।”

राज्यमा दशकौं यताकै सबैभन्दा खराब बाढी देखिएपछि केही बासिन्दाहरूलाई अग्लो ठाउँमा जान आदेश दिइएको छ। सियाटलभन्दा उत्तरमा रहेको खेतीपातीको प्रमुख क्षेत्र स्कागिट काउन्टीमा स्कैगिट नदीको बाढी क्षेत्र भित्र बसोबास गर्ने सबैलाई तुरुन्तै घर छोड्न भनिएको छ। काउन्टीका अनुसार त्यस क्षेत्रमा करिब ७८,००० मानिसहरू बसोबास गर्छन्।
गभर्नर फर्गुसनले धेरै क्षेत्रहरूमा विनाशकारी बाढी आउने सम्भावना रहेको भन्दै पानीमा उद्धार गर्ने टोली र डुङ्गाहरूको माग गरेका छन्। वाशिङ्गटन राष्ट्रिय सुरक्षा सैनिक (नेशनल गार्ड)ले पनि समुदायहरूलाई सहयोग गर्न सयौं सुरक्षाबल सदस्यहरू पठाउने तयारी गरेको छ।

राज्यका धेरै भागहरूमा भारी वर्षा जारी रहँदा नदीहरू बढ्दै गएका छन् । सिबिएसन्यूजका अनुसार सडकहरू बन्द भएका छन् भने उद्धार कार्यहरू भइरहेका छन्। सियाटलको पूर्वमा अन्तरराज्य ९० को केही भाग पहिरोले अवरुद्ध भएको छ ,जसमा सवारी साधनहरू पनि फसेका थिए।
गभर्नर फर्गुसनले पानी घटिसकेपछि पनि लामो र कठिन बाटो अगाडि रहेको बताउँदै, वाशिङ्गटनका बासिन्दाहरूमा पर्ने असर निकै ठूलो हुने चेतावनी दिएका छन्। अर्को समुन्द्री आधीले आइतबारदेखि थप पानी ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया