कृतिम बुद्धिमत्ताका वास्तुकारहरूलाई: टाइम पत्रिकाको वर्ष व्यक्ति २०२५ को उपाधि

इनेप्लिज २०८२ मंसिर २७ गते ११:४३ मा प्रकाशित

टाइम म्यागजिन(पत्रिका)ले २०२५ को ‘वर्ष व्यक्ति’को उपाधि कृतिम बुद्धिमत्ताका वास्तुकार “एआईका डिजाइनरहरू” लाई दिने घोषणा गरेको छ। यो सम्मान एक शताब्दीभन्दा बढी समयदेखि हरेक वर्ष विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने व्यक्ति वा समूहलाई दिइँदै आएको छ।

टाइम पत्रिकाले यो वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताको क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने मुख्य व्यक्तिहरूलाई छानेको हो।

टाइम पत्रिकाको २०२५ को यो सम्मान कृतिम बुद्धिमत्तालाई चर्चा र बदनामीको शिखरमा पुर्‍याउने दिमाग र लगानीकर्ताहरूलाई दिइएको छ। यसमा एनभिडियाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जेन्सेन हुआङ, सफ्टबैंकका प्रमुख कार्यकारी अधिकारी मासायोशी सोन र बाइडुका प्रमुख कार्यकारी अधिकारी रोबिन ली जस्ता व्यक्तिहरू सामेल छन्, जसले म्यागजिनसँग सीधा कुराकानी पनि गरेका थिए।

टाइमका प्रधान सम्पादक साम ज्याकब्सले भनेका छन्, “वर्ष व्यक्ति एक शक्तिशाली माध्यम हो जसले हाम्रो जीवनलाई आकार दिने मानिसहरूमा विश्वको ध्यान केन्द्रित गर्छ। यो वर्ष, कृतिम बुद्धिमत्ता (एआई)को कल्पना गर्ने, रूपरेखा(डिजाइन) गर्ने र निर्माण गर्ने व्यक्तिहरूको प्रभाव सबैभन्दा ठूलो रह्यो।”

म्यागजिनले यस वर्षको अंकका लागि दुईवटा फरक आवरण तयार पारेको छ। एउटा आवरण (कभर)मा कृतिम बुद्धिमत्ता विकासका महत्त्वपूर्ण पात्रहरू (जस्तै: मेटाका मार्क जुकरबर्ग, ओपनएआईका साम अल्टम्यान, एक्सएआईका एलन मस्क आदि) लाई अग्लो भवनको बीममा बसेको देखाएको छ, जसले अमेरिकी लचकताको पुरानो तस्बिरको नयाँ रूप दिएको छ।

जेन्सेन हुआङले कृतिम बुद्धिमत्ता को बारेमा भनेका छन्, “हरेक उद्योगलाई यसको आवश्यकता छ, हरेक प्रतिष्ठानले यसलाई प्रयोग गर्छ, र हरेक राष्ट्रले यसलाई निर्माण गर्नुपर्छ। यो हाम्रो समयको सबैभन्दा ठूलो प्रभाव पार्ने प्रविधि हो।”

तस्बिर कृतज्ञता : टाइम म्यागजिन(पत्रिका)

प्रतिक्रिया