
राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एउटा महत्त्वपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । यो आदेशले अमेरिकी राज्य सरकारहरूलाई कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी आफ्नै नियमहरू लागू गर्नबाट रोक्नेछ।
ट्रम्पको उद्देश्य अमेरिकामा कृत्रिम बुद्धिमत्ता अर्थात् ए.आई का लागि ‘एउटै राष्ट्रिय ढाँचा’ बनाउनु हो। ह्वाइट हाउसका एक अधिकारी विल स्कार्फका अनुसार यो आदेशले कृत्रिम बुद्धिमत्ता उद्योगलाई कमजोर पार्न सक्ने राज्य-स्तरको नियमनबाट जोगाउनेछ।
ट्रम्पको भनाइ र तर्क अनुसार यदि ए.आई. कम्पनी(कृतिम बुद्धिमत्ता प्रतिष्ठान)हरूले कुनै काम गर्नु अघि ५० वटा फरक-फरक राज्यबाट स्वीकृति लिनुपर्यो भने कृतिम बुद्धिमत्ताको विकास अघि बढ्न सक्दैन । यसले चीनजस्ता प्रतिस्पर्धीसँगको दौडमा अमेरिकालाई पछि पार्न सक्छ। राष्ट्रिय सुरक्षा र आर्थिक प्रभुत्वका लागि केन्द्रीकृत नियमन आवश्यक छ।
यसअघि कङ्ग्रेस (संसद) मा रिपब्लिकनहरूले राज्य सरकारहरूलाई कृतिम बुद्धिमत्ता (ए.आई. )नियमन गर्नबाट रोक्ने प्रयास गरेका थिए, तर सांसदहरूले त्यो प्रस्तावलाई दुई पटक भारी मतले अस्वीकार गरिदिएका थिए।
यस कार्यकारी आदेशले अब कृतिम बुद्धिमत्ता सम्बन्धी राज्यका कानूनहरूलाई अदालतमा चुनौती दिन र निश्चित सङ्घीय कोष रोक्नेसम्मको योजना बनाएको छ। ट्रम्प प्रशासनले बाल सुरक्षाका लागि बनेका नियमहरू बाहेक अन्य धेरै नियमहरूलाई हटाउने तयारी गरेको छ।
प्रतिक्रिया