ट्रम्पको विशेष स्थायी बसोबास पत्र ‘गोल्ड कार्ड’ कार्यक्रम सुरु: १ मिलियन डलरमा अमेरिकी स्थायी बसोबास

इनेप्लिज २०८२ मंसिर २६ गते ३:०१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवारलामो समयदेखि चर्चामा रहेको आफ्नो “गोल्ड कार्ड” सुनौलो पत्र अर्थात् विशेष स्थायी बसोबास पत्र कार्यक्रम आधिकारिक रूपमा सुरु भएको घोषणा गरेका छन् ।

यो योजनाअन्तर्गत प्रत्येक व्यक्तिले १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) तिरेमा उनीहरूलाई अमेरिकी स्थायी बसोबासको कानूनी दर्जा र पछि नागरिकताको बाटो खुल्नेछ। यदि कुनै कम्पनीले विदेशी कर्मचारीका लागि ‘गोल्ड कार्ड’ लिन चाहन्छ भने, प्रति कर्मचारी २ मिलियन डलर तिर्नुपर्नेछ।

पुरानो भिसा(प्रवेशाज्ञा) परिवर्तन :

यो नयाँ कार्यक्रमले पहिलेदेखि नै रहेको इबि-५ भिसालाई विस्थापित गर्नेछ। इबि-५ प्रवेशाज्ञा विदेशी लगानीकर्ताहरूलाई अमेरिकामा लगानी गरेर (लगभग १ मिलियन डलर खर्च गरेर कम्तीमा १० जनालाई रोजगारी दिएर) स्थायी आवासीय पत्र (ग्रिनकार्ड) दिने योजना थियो।

राष्ट्रपति ट्रम्पको भनाइ अनुसार उनको नयाँ ‘गोल्ड कार्ड’ योजना अमेरिकाका लागि उत्कृष्ट प्रतिभा भित्र्याउने, उनीहरूलाई देशमै रोक्ने र सँगसँगै सरकारको ढुकुटीमा बिलियन डलर राजस्व जम्मा गर्ने माध्यम बन्नेछ।

ट्रम्पले यो योजनालाई “गोल्ड कार्ड” भने पनि, यो वास्तवमा स्थायी आवासीय पत्र (ग्रिनकार्ड) जस्तै हो, जसले अमेरिकामा स्थायी रूपमा बस्ने अधिकार दिन्छ र पछि नागरिकताको लागि आवेदन दिन मिल्छ। ट्रम्पले यसलाई “ग्रिनकार्ड नै हो, तर धेरै राम्रो र धेरै शक्तिशाली बाटो” भनेका छन् ।

यो कार्यक्रमको मुख्य लक्ष्य भनेको विदेशी मुलका भएर पनि अमेरिकाका उत्कृष्ट विश्वविद्यालयहरूबाट उत्रिण भएका विद्यार्थीहरूलाई यहीँ काम गर्न र बस्नको लागि अनुमति दिनु हो। राष्ट्रपति ट्रम्पका अनुसार धेरै व्यापारिक नेताहरूले योग्य विदेशी स्नातकहरूलाई राख्न नसकेको गुनासो गरेपछि यो कदम चालिएको हो।

वाणिज्य सचिव होवार्ड लुट्निकले यो भिसा (प्रवेशाज्ञा)पाउने व्यक्तिहरूको कडा जाँचगरिने र उनीहरू अमेरिकाका लागि ‘उत्कृष्ट मान्छे’ मात्र हुने बताएका छन्।

यसरी पैसा तिरेर वा लगानी गरेर स्थायी बसोबासको अनुमति दिने ‘गोल्डेन भिसा’ सुनौलो पत्र कार्यक्रमहरू विश्वका धेरै देशहरूमा (जस्तै: बेलायत, स्पेन, क्यानडा, अस्ट्रेलिया) पनि चलनमा छन्।

ट्रम्पले यो कार्यक्रमबाट चीन, भारत र फ्रान्स जस्ता देशका उत्कृष्ट कलेज स्नातकहरूलाई विशेष फाइदा हुने बताएका छन्।

प्रतिक्रिया