
गत सोमबार राती खोलिएको अमेरिकाबाट संचालित पावरबल नामक चिट्ठाको सबै अङ्क कसैले पनि नमिलाए पछि आउदो बुधबार खुल्ने भएको छ । यो पुरस्कार बढेर अब लगभग ९३० मिलियन डलर पुगेको छ। यो यस वर्षको दोस्रो सबैभन्दा ठूलो चिट्ठा हो ।
सोमबार राति भएको गोलाप्रथामा कसैले पनि यो ठूलो पुरस्कार जित्न सकेन, त्यसैले अबको चिट्ठा झन् ठूलो भएको हो। सोमबारको विजयी अङ्कहरू ८,३२,५२,५६ ,६४ र पावरबल अङ्क २३ थियो।
अब अर्को गोलाप्रथा डिसेम्बर १० बुधबार हुनेछ। यो अहिलेसम्मको सातौँ सबैभन्दा ठूलो चिट्ठा हो। यसअघि सेप्टेम्बरमा १.७८७ बिलियन डलरको सबैभन्दा ठूलो चिट्ठा बाँडिएको थियो।
यो चिट्ठा जित्ने सम्भावना निकै कम हुन्छ किनभने लगभग २९ करोड २० लाखमा १ जनाको मात्र जित्ने मौका हुन्छ । यदि कुनै व्यक्तिले यो चिट्ठा जितेमा भने उसले दुई तरिकाले पैसा लिन सक्छ । एकैचोटि नगद लिन चाहेमा ४२९ मिलियन डलर प्राप्त गर्ने छन् । अर्को बिजेताले वार्षिक रूपमा किस्ताबन्दीमा पैसा पाउने छन् ।
पावरबल चिट्ठा खेल्नको लागि २ डलरको टिकट किन्नुपर्छ । आफैले केही अङ्कहरू छान्नुपर्छ नत्र नछाने पनि यन्त्रले आफै दिन्छ । यो चिट्ठा सन् १९९२ मा सुरु भएदेखि अहिलेसम्म यसले लगभग ३६ बिलियन डलर समाज सेवाको लागि पनि जम्मा गरिसकेको छ।
पावरबल चिट्ठा अमेरिकाका ४५ राज्यहरूमा खेलिन्छ । यसका साथै, डिसी,पुर्टो रिको र यू.एस. भर्जिन टापुहरूमा पनि खेल्न पाइन्छ। कुल मिलाएर ४८ स्थानमा पावरबलको टिकट किन्न सकिन्छ। हाल पावरबल टिकट नबेच्ने वा टिकट नभएका पाँच राज्यहरूमा अलाबामा,अलास्का,हवाई,नेभादा र युटाह रहेका छन् ।
प्रतिक्रिया