
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्व निजी वकील अलिना हब्बाले न्यू जर्सी राज्यको उच्च सरकारी वकील पदबाट राजीनामा दिएकी छिन्।
अदालतले उनको नियुक्ति गैरकानूनी ठहर गरेपछि र पदमा बसिरहन नपाउने निर्णय गरेपछि उनले सोमबार राजीनामा दिएकी हुन्।
सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हब्बाले अदालतको यो फैसलालाई ‘राजनीतिक’ चाल भएको आरोप लगाएकी छिन्।
यद्यपि, उनले आफ्नो कार्यालयको स्थिरता र इमानदारी बचाउनका लागि राजीनामा दिएको बताएकी छिन्। उनले भनिन्, “मेरो राजीनामालाई आत्मसमर्पण नठान्नुहोला।”
उनले यो फैसला विरुद्ध सरकारले अपील गर्न जारी राख्ने कुरा स्पष्ट पारेकी छिन्।
४१ वर्षीया हब्बालाई गत मार्चमा न्यू जर्सीको कार्यवाहक अमेरिकी सरकारी वकीलको रूपमा अस्थायी अवधिका लागि नियुक्त गरिएको थियो।
ट्रम्प राष्ट्रपति नभएको बेला उनी ट्रम्पको कानुनी सुरक्षा दिने प्रमुख व्यक्तिहरूमध्ये थिइन् र अमेरिकी दूरदर्शनहरुमा पनि उनको ‘कानूनी प्रवक्ता’ को रूपमा देखिने गर्थिन्।
राजीनामापछि अब हब्बाले न्याय विभागमै बसेर अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीको वरिष्ठ सल्लाहकारको रूपमा काम गर्ने बताएकी छिन्।
प्रतिक्रिया