हमासको शासन अन्त्य गर्ने अमेरिकी योजनाको दोस्रो चरण नजिकै, नेतन्याहू र ट्रम्पको महत्त्वपूर्ण भेट हुने

इनेप्लिज २०८२ मंसिर २२ गते २०:३८ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने घोषणा गरेका छन् । उनले राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजनाको दोस्रो चरण सुरु हुने बेला भइसकेको बताए ।

जर्मन चान्सलर फ्रेडरिख मेर्जसँगको पत्रकार सम्मेलनमा नेतन्याहूले भने यस भेटमा गाजामा शान्तिको अवसर र प्यालेस्टिनी लडाकु समूह हमासको शासन अन्त्य गर्ने विषयमा कुरा हुनेछ।

ट्रम्पको यो शान्ति योजनामा इजरायली बन्धकहरूलाई मुक्त गर्ने र गाजामा एक अन्तरिम प्यालेस्टिनी सरकार बनाउने कुरा समावेश छ। यो नयाँ सरकारलाई एउटा अन्तर्राष्ट्रिय ‘शान्ति बोर्ड’ले हेर्नेछ र अन्तर्राष्ट्रिय सुरक्षा फौजले सहयोग गर्नेछ।

एनबिसीन्यूजका अनुसार प्रधानमन्त्री नेतन्याहूले शान्ति योजनाको पहिलो चरण लगभग सकिएको बताए । पहिलो चरणमा अक्टोबर १० मा युद्धविराम लागू भएपछि हमासले २० जना जीवित बन्धक र २७ शव इजरायललाई फर्काएको थियो। यसको बदलामा इजरायलले पनि करिब २,००० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्‍यो।

यसबीच, जर्मन चान्सलर मेर्जले अहिले प्रधानमन्त्री नेतन्याहूलाई जर्मनी भ्रमणको निम्तो दिने कुनै योजना नभएको स्पष्ट पारे ।

स्मरण रहोस , नेतन्याहू हाल गाजा द्वन्द्वमा युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट पक्राउ पुर्जीको सामना गरिरहेका छन्।

प्रतिक्रिया