
अमेरिका–रूस बीच भएको महत्वपूर्ण भेटवार्तापछि युक्रेनले आफ्नो युरोपेली र अमेरिकी साझेदारहरूसँग पुनः समन्वय गर्ने तयारी गरेको छ। बुधबार युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरू ब्रसेल्समा एकत्रित हुने बताइएको छ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाद्वारा समर्थन गरिएको पछिल्लो शान्ति-योजना “पुरै अस्वीकार गरेका छैनन् ” भनेर क्रेमलिनले जनाएको छ। तर, यो योजना रूसका लागि स्वीकार्य बनाउन अझ धेरै काम गर्नुपर्ने पनि बताएको छ । क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभका अनुसार, “कतिपय बुँदा स्वीकार्य, कतिपय अस्वीकार्य,” र सम्झौता खोज्ने प्रक्रिया स्वाभाविक रूपमा अगाडि बढिरहेको छ।
मंगलबार मस्कोमा भएको पाँच घण्टा लामो उच्चस्तरीय बैठकपछि युक्रेनका सुरक्षा परिषद् सचिव रुस्तेम उमेरोभ र सैनिक उच्च अधिकारी आन्द्रिय ह्नातोभ बुधबार ब्रसेल्समा युरोपेली अधिकारीहरूसँग छलफल गर्न जाँदैछन्। यसै विषयलाई लिएर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हाम्रा साझेदारहरूसँग निरन्तर समन्वय जारी छ, वार्ता सक्रिय रहेको बताएका छन् ।
ब्रसेल्सपछि उमेरोभ र ह्नातोभले ट्रम्प प्रशासनका दूतहरूसँग हुने आगामी वैठकको तयारी गर्नेछन्।
यसअघि, ट्रम्प प्रशासनले गत महिना युक्रेनलाई दिएको मूल शान्ति-योजनामा संशोधन गर्न अमेरिकन र युक्रेनी टोलीबीच धेरै बैठक भएको थियो। फ्लोरिडामा अमेरिकी अधिकारी स्टिभ विटकोफ, विदेशसचिव मार्को रुबियो, र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले युक्रेनी टोलीसँग भेटेर दुवै पक्षले स्वीकार गर्न सक्ने प्रस्ताव खोज्ने प्रयास गरेका थिए।
विटकफ र कुशनरले मस्कोमा पुटिनलाई ती नतिजा बताए। रूसले अझै “कठिन विषयमा कुनै अन्तिम सम्झौता भएको छैन” भने पनि ट्रम्प प्रशासनका प्रयासप्रति कृतज्ञता व्यक्त गरेको छ।
प्रतिक्रिया