
अष्ट्रेलिया सरकारले आउँदो हप्तादेखि सामाजिक सञ्जाल प्रयोगको न्यूनतम उमेर १६ वर्ष बनाउने कडा कानुन लागू गर्ने भएको छ ।
सञ्चारमन्त्री आनिका वेल्सले बुधबार भनिन् सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स (ट्विटर), युट्युब र स्न्यापच्याट जस्ता ठूला प्रतिष्ठान (कम्पनी)हरूले डिसेम्बर १० भन्दा अगाडि १६ वर्षभन्दा कम उमेरका आफ्ना अष्ट्रेलियाली प्रयोगकर्ताहरूको खाता (अकाउन्ट) हटाउनुपर्नेछ।
यदि कुनै प्रतिष्ठानले यो नियम पालना गरेन वा १६ वर्षमुनिका प्रयोगकर्ताको खाता हटाउन उचित कदम चालेन भने उनीहरूलाई ५० मिलियन अस्ट्रेलियन डलर (३३ मिलियन अमेरिकी डलर) सम्म जरिवाना लाग्न सक्छ।
सरकारको तर्फबाट ‘ई-सेफ्टी कमिशनर’ ले डिसेम्बर ११ देखि हरेक महिना यी प्रतिष्ठानहरूसँग कति खाता बन्द गरियो भनेर प्रतिवेदन माग्नेछन्। यो नियमले बालबालिकालाई बिधुतिय (अनलाइन)मा हुने खतरा र मानसिक तनावबाट जोगाउने सरकारको भनाइ छ।
यसै विषयमा, गुगलले युट्युब प्रयोग गर्ने १६ वर्षमुनिका सबै प्रयोगकर्तालाई डिसेम्बर १० बाट हटाउने जानकारी दिएको छ। उता, फेसबुक र इन्स्टाग्राम चलाउने कम्पनी मेटाले पनि शङ्का लागेका युवा प्रयोगकर्ताहरूलाई बिहीबारदेखि नै हटाउन सुरु गर्ने बताएको छ।
यद्यपि, ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ नामक एक अधिकारवादी समूहले यो कानुन लागू हुन नदिन अदालतमा मुद्दा हालेको छ। तर, मन्त्री वेल्सले अदालतमा पनि यो कानुनको बचाउ गर्ने र अभिभावकको चाहनाअनुसार अगाडि बढ्ने बताएकी छन् ।
तस्बिर : कृतिम बुद्धिमत्ता (च्याटजिपीटी )
प्रतिक्रिया