डिसी गोलीकाण्ड पछि १९ देशका स्थायी आवासीय पत्र (ग्रीनकार्ड)लिएकाको नागरिकता प्रक्रिया पनि रोकियो

इनेप्लिज २०८२ मंसिर १८ गते १:५५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १९ देशका नागरिकहरूको सबै अध्यागमन आवेदनहरू रोकेको छ। वाशिंगटन,डिसीमा गत हप्ता दुई राष्ट्रिय सुरक्षा दलका सैनिकहरूलाई गोली हान्ने घटनापछि कानुनी अध्यागमनका बाटोहरूलाई कडाई गर्ने यो ट्रम्प प्रशासनको पछिल्लो कदम हो।

आन्तरिक सरकारी निर्देशनअनुसार,अमेरिकी नागरिकता तथा अध्यागमन सेवा निकाय अर्थात् युएससिआइएस नामक सरकारी निकायले आफ्ना कर्मचारीहरूलाई १९ देशका सबै केसहरूमा अन्तिम निर्णय गर्न रोक्न आदेश दिएको छ।

यी १९ राष्ट्रहरू जुन महिनामा ट्रम्पले जारी गरेको यात्रा प्रतिबन्ध नामक घोषणा अन्तर्गत प्रतिबन्धमा परेका देशहरू हुन्।

सिबिएसन्यूजका अनुसार यो रोकमा ती १९ देशका कानुनी स्थायी बासिन्दाहरू अर्थात् स्थायी आवासीय पत्र (ग्रीन कार्डको )नागरिकता समारोह’ समेत समावेश छन्, जो अब अमेरिकाको प्राकृतिक नागरिक बन्ने संघारमा थिए।

युएससीआईएसको यो निर्देशनले भन्छ, “यो रोकमा सबै प्रकारका आवेदनहरू र कुनै पनि अन्तिम निर्णयहरू (स्वीकृति वा अस्वीकृति) साथै नागरिकताको शपथ ग्रहण समारोहहरू सम्पन्न गर्न रोक्ने कुरा समावेश छ।” यो निलम्बन एउटा अन्तरिम कदम हो, जसले प्रभावित आप्रवासीहरूको थप जाँचका लागि प्रशासनले अर्को नियम नबनाएसम्म लागू हुनेछ।

ट्रम्पको जुन महिनाको घोषणाले अफगानिस्तान, म्यानमार, इरान, सोमालिया, सुडान, यमन, हैटी लगायतका १२ देशका मानिसहरूको प्रवेशमा लगभग पूर्ण प्रतिबन्ध लगाएको थियो। यसबाहेक, क्युबा, भेनेजुएला लगायत ७ देशका यात्रु र आप्रवासीहरूको प्रवेशमा आंशिक रोक लगाइएको थियो।

गोलीकाण्डका आरोपी एक अफगानी शरणार्थी थिए, जसलाई २०२५ मा शरण दिइएको थियो। यो घटनापछि ट्रम्पले शरणसम्बन्धी सबै निर्णयहरू रोक्ने, अफगानी नागरिकहरूको प्रवेशाज्ञा (भिसा) रोक्ने र १९ देशका स्थायी आवाशीय पत्र (ग्रीन कार्ड)मुद्धाहरूको समीक्षा गर्ने घोषणा गरिसकेका थिए।

तर, यो नयाँ निर्देशनले नागरिकताका आवेदनहरू समेत रोक्ने भएपछि यो कदम पहिले सोचिएको भन्दा धेरै ठूलो देखिएको छ।

गृह सुरक्षा विभागले यो निलम्बनको बारेमा भन्यो, “ट्रम्प प्रशासनले यो सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ कि नागरिक बन्ने व्यक्तिहरू ‘उत्कृष्टमध्ये उत्कृष्ट’ हुन्।”

प्रतिक्रिया