
यस वर्षको हिउँद (जाडो) मौसमको पहिलो ठूलो आँधी अर्थात् हिमपात अमेरिकाको पूर्वी तटतिर बढिरहेको छ। यसले गर्दा लाखौं अमेरिकीहरूलाई खराब मौसमी अवस्थाको चेतावनी दिइएको छ।
सोमबार मध्य अमेरिकाका केही भागमा हिउँ पारेपछि, यो हिमपातले अब न्यू इङ्गल्यान्ड क्षेत्रमा जमेर बस्ने खालको हिउँ र बरफ जम्ने सम्भावना बढाएको छ। न्यूयोर्कको अल्बानीदेखि मेनको पोर्टल्यान्डसम्म हिउँदे आँधीको चेतावनी जारी गरिएको छ।
यस आँधीको तयारीस्वरूप न्यु जर्सीका गभर्नर फिल मर्फीले राज्यका उत्तर-पश्चिमी भागका धेरै काउन्टीहरूमा मङ्गलबार बिहान ५ बजेदेखि लागु हुने गरी आपतकालीन अवस्था घोषणा गरेका छन् । भारी हिउँ, बरफ र जम्ने खालको पानी पर्न सक्ने भएकाले यो घोषणा गरिएको हो।
न्युयोर्कका गभर्नर क्याथी होचुलले पनि राज्यका बासिन्दाहरूलाई सडकमा सावधानी अपनाउन र मौसम पूर्वानुमानमा ध्यान दिन आग्रह गरेकी छन् ।
राष्ट्रिय मौसम सेवाले अन्तरराज्य -९५ Iराजमार्गबाट उत्तर र पश्चिमका क्षेत्रहरूमा ६ इन्चभन्दा बढी हिउँ पर्न सक्ने जनाएको छ। मङ्गलबार साँझसम्म पिट्सबर्गदेखि क्लिभल्यान्ड हुँदै माथिल्लो न्युयोर्कसम्म भारी हिउँ पर्ने अनुमान छ। न्यू इङ्गल्यान्डमा भने बुधबार बिहानसम्म स्थानीय रूपमा ६ देखि १२ इन्चसम्म हिउँ जम्ने सम्भावना छ।
यो आँधी प्रणालीले वासिङ्टन डिसी ,फिलाडेल्फिया र न्युयोर्क शहरमा पनि भारी वर्षा गराउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया