
राष्ट्रिय अध्यागमन न्यायाधीश संघ का एक अधिकारीका अनुसार ट्रम्प प्रशासनले सोमबार न्युयोर्क शहरमा कार्यरत आठ जना अध्यागमन न्यायाधीशहरूलाई पदबाट हटाएको छ। बर्खास्त गरिएका यी न्यायाधीशहरू २६ फेडरल प्लाजा नामक स्थानामा कार्यरत थिए।
यो घटना प्रशासनले हटाएकी एक पूर्व न्यायाधीशले भेदभावको दाबी गर्दै न्याय विभाग विरुद्ध मुद्दा हालेपछि आएको हो।
ओहियोकी पूर्व अध्यागमन न्यायाधीश तानिया नेमरले सोमबार मुद्दा दायर गर्दै आफूलाई लैङ्गिक कारणले, लेबनानको दोहोरो नागरिकता भएकोले र डेमोक्र्याटको रूपमा स्थानीय चुनावमा भाग लिएका कारण हटाइएको दाबी गरेकी छन्। उनका अनुसार यो कार्य नागरिक अधिकार कानुनको उल्लङ्घन हो।
नेमरले ‘उत्कृष्ट प्रदर्शन’ गरेको भए तापनि उनलाई परीक्षण कालको बीचमै ‘एक्कासी बर्खास्त’ गरिएको मुद्दामा उल्लेख छ। नेमरका वकिलहरूले सरकारले अहिलेसम्म उनलाई हटाउनुको कुनै वैध कारण नदिएको बताएका छन्।
अमेरिकी गृह सुरक्षा विभागले सक्रिय रूपमा देश निकाला न्यायाधीश’ नियुक्त गरिरहेको समयमा यो घटना घटेको एबिसीन्यूजले जनाएको छ ।
अमेरिकामा हाल ३७ लाखभन्दा बढी अध्यागमनका मुद्दाहरू विचाराधीन छन् तैपनि अध्यागमन कानुनमा अनुभव भएका न्यायाधीशहरूलाई हटाइएकोमा आप्रवासी अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
नेमरले आफ्नो अधिकारको उल्लङ्घन भएको घोषणा, पदमा पुनर्बहाली र क्षतिपूर्तिको माग गर्दै अदालतमा निवेदन दिएकी छिन्।
प्रतिक्रिया