डिसीमा गोली लागेका जवानले बुढी औला र खुट्टाका औला चलाए: गभर्नर भन्छन्—’यो सकारात्मक संकेत हो’

इनेप्लिज २०८२ मंसिर १७ गते ०:५९ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका वायु सेनाका जवान एन्ड्रयु वल्फको अवस्थामा केही सुधार आएको छ।

अमेरिकाको वेस्ट भर्जिनिया राज्यका गभर्नर प्याट्रिक मोरिसका अनुसार, २४ वर्षीय वल्फले स्वास्थ्य परिचारिका (नर्स)लाई ‘ठीक छ’ भन्दै हातको बुढी औंलाले सङ्केत गरे र खुट्टाका औंलाहरू पनि चलाए। गभर्नरले यो ‘सकारात्मक संकेत’ भएको बताएका छन्।

तर, वल्फको परिवारले उनको पूर्ण स्वास्थ्यलाभका लागि सबैलाई निरन्तर प्रार्थना गरिदिन आग्रह गरेको छ।

यही हमलामा मारिएकी २० बर्षिय सारा बेकस्ट्रमलाई पनि श्रद्धाञ्जली दिइएको छ। गभर्नरले उनको निधनलाई आतंकवादीको भयानक कार्य भनेका छन्। वेस्ट भर्जिनियामा उनको सम्मानमा झण्डाहरू आधा झुकाइएका छन्।

वेस्ट भर्जिनिया राष्ट्रिय सुरक्षा दलका प्रमुख मेजर जनरल(उपरथी) जिम सेवर्डले ६,००० भन्दा बढी सुरक्षाकर्मीहरूको परिवार शोकमा रहेको बताए।

हमला गर्ने रहमानुल्लाह लकनवाल नामक २९ वर्षीय अफगानी नागरिकलाई अर्का सुरक्षाकर्मी जवानले गोली हानेर नियन्त्रणमा लिएका थिए। उनी अहिले अस्पतालमा छन्। लकनवाल माथि हत्याको मुद्दा लगाइने अमेरिकी सरकारी वकिलले बताएका छन्। गभर्नर मोरिसिले ‘न्याय भएरै छाड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया