
न्याय विभागले पूर्व एफबिआइ निर्देशक जेम्स कोमी र न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिसा जेम्स विरुद्ध नयाँ अभियोग चाँडै नै निर्णायक मण्डल (ग्रान्ड जुरी) मा पेश गर्ने तयारी गरिरहेको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
गत हप्ता न्यायाधीशले यी दुई जनामाथि लागेको मुद्दा खारेज गरिदिएका थिए। मुद्दा खारेज हुनुको कारण यो थियो कि त्यसबेला अभियोग दर्ता गर्ने अन्तरिम अमेरिकी महान्यायाधिवक्ता लिन्डसे ह्यालिगनलाई कानुनी रूपमा उक्त अधिकार थिएन।
कोमीलाई पाँच वर्षअघि कङ्ग्रेसमा झूट बोलेको आरोप थियो भने न्यूयोर्ककी महान्यायाधिवक्ता जेम्सलाई मोर्गेज (भूमिबन्धक)ठगी सम्बन्धी आरोप लगाईएको थियो। दुवैले आफू निर्दोष रहेको बताएका थिए।
मुद्दा खारेज भए पनि एफबिआइ निर्देशक काश पटेलले न्याय विभागका धेरै विकल्पहरू बाँकी रहेको र ‘धन्यवाद दिवस’ अर्थात् थाङ्क्सगिभिङ्ग लगत्तै धेरै जवाफहरू आउने बताएका छन्। न्याय बिभागले न्यायाधीशको यो निर्णयलाई माथिल्लो अदालतमा अपील गर्ने योजना पनि बनाएको छ, जसको लागि क्रिसमस सम्मको समय छ।
सिएनएनले जनाए अनुसार तर, अपील गर्नुभन्दा पहिले न्याय विभागले कोमी विरुद्ध नयाँ अभियोग लगाउन निर्णायक मण्डल (ग्रान्ड जुरी)को स्वीकृति लिने प्रयास गर्न सक्छ। यदि यस्तो भयो भने, कोमीको कानुनी टोलिले पनि त्यसको सामना गर्न तयार रहेको जनाएको छ।
प्रतिक्रिया