
न्युयोर्क, अमेरिका — नोभेम्बर १५, २०२५:
प्रतिभाशाली सांस्कृतिक प्रस्तुतकर्ता एन्जेला साह प्रतिष्ठित Cultural Ambassador & Rising Star Award बाट सम्मानित भएकी छन्। यो विशेष सम्मान बलिउडकी महान् नृत्य आइकन माधुरी दीक्षितले न्युयोर्कमा आयोजित कार्यक्रममा प्रदान गर्नुभयो। यही दिन एन्जेलाको ९औँ जन्मदिन पनि भएकाले यो अवसर उनको परिवार र समुदायका लागि झनै विशेष बन्यो।

एन्जेला सांस्कृतिक पहिचान प्रवर्द्धनमा समर्पित एक प्रतिभाशाली प्रस्तुतकर्ता हुन्। उनले न्युयोर्क स्टेट क्यापिटल, टाइम्स स्क्वायर, ग्रेसी म्यान्सन (न्युयोर्क सिटी मेयरको आधिकारिक निवास) र न्युयोर्क सिटी हल चेम्बर जस्ता प्रतिष्ठित स्थानहरूमा प्रदर्शन गरिसकेकी छन्। साथै, उनले न्युयोर्क स्टेट गभर्नर संगै ऐतिहासिक NYC School Diwali Holiday Bill Signing Ceremony मा एशियन-अमेरिकन समुदायको प्रतिनिधित्व गर्वका साथ गरेकी थिइन्।

कलात्मक क्षमतासँगै एन्जेला शैक्षिक उत्कृष्टता, सिर्जनशीलता र करुणाका लागि पनि परिचित छिन्। उनले विद्यालयबाट नेतृत्व, सहानुभूति, र चरित्रका लागि विभिन्न सम्मानहरू प्राप्त गरिसकेकी छन्—जसले उनको व्यक्तित्व र समुदायप्रतिको योगदान झनै उजागर गर्छ।
माधुरी दीक्षितद्वारा प्रदान गरिएको यो सम्मान एन्जेलाको सांस्कृतिक पहिचान संरक्षण, कला, र समुदाय प्रति कम उमेरमै गरेको उल्लेखनीय योगदानको प्रमाण हो। एन्जेलाका पिता अमित प्रताप शाहले यस उपलब्धिलाई “उनको जीवनमा एउटा सुन्दर आशीर्वाद र प्रेरणादायी उपलब्धि” भनेर वर्णन गरे।

एन्जेला नृत्य, रिद्मिक जिम्न्यास्टिक्स, र चित्रकला जस्ता क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै अघि बढिरहेकी छिन्। उनको प्रतिबद्धता, मेहनत र सिर्जनशीलताले उनलाई सांस्कृतिक कला र सामुदायिक सहभागितामा उदीयमान युवा स्वरका रूपमा परिचित गराएको छ।

एन्जेला साहले आफ्नो प्रतिभा, समर्पण, र सांस्कृतिक गर्वमार्फत नयाँ पुस्तालाई प्रेरित गरिरहेकी छिन्—जसप्रति समुदायले गहिरो गर्व व्यक्त गरेको छ।
प्रतिक्रिया