
केन्टकी राज्यको लुइभिल शहरमा नेपाली खेलाडी कल्पना तिवारीद्वारा स्थापना गरिएको हिमालयन तेक्वान्दोले आफ्नो पहिलो व्याचका विद्यार्थीहरूको डेपुटी ब्ल्याक बेल्ट कोर्ष सफलतापूर्वक सम्पन्न गरेको छ।
आइतवार लुइभिलमा आयोजित विशेष समारोहमा ब्ल्याक बेल्ट प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूका अभिभावक, प्रशिक्षकहरू, र समुदायका अगुवाहरूले उत्साहपूर्वक उपस्थित भएर विद्यार्थीहरूको उपलब्धि मनाएका थिए। सन् २०२२ मा स्थापित हिमालयन तेक्वान्दो स्कुलमा ९० भन्दा वढी विद्यार्थीले प्रशिक्षण लिइरहेका छन् ।

कार्यक्रमको प्रारम्भमा वेल्ट टेष्ट (ग्रेडिङ) आयोजना गरिएको थियो, जहाँ ब्ल्याक बेल्टका साथै अन्य वेल्ट स्तरका खेलाडीहरूले पनि आफ्नो दक्षता प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले तेक्वान्दोका विभिन्न शैली, आत्मरक्षा प्रदर्शन, र शारीरिक सन्तुलनका अभ्यास प्रस्तुत गर्दा उपस्थित दर्शकहरूले जोशका साथ ताली बजाएका थिए।

समारोहका प्रमुख अतिथि फ्रिडम एडल्ट डे केयरका निर्देशक श्री टीका अधिकारीले विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। उहाँले आफ्ना शुभकामनामा भन्नुभयो, “हाम्रो समुदायका बालबालिकाले खेलकुदमा यस्तो अनुशासन र आत्मविश्वास देखाउनु गर्वको कुरा हो। तेक्वान्दोले केवल शरीरलाई होइन, मनलाई पनि सशक्त बनाउँछ।”

कार्यक्रममा हिमालयन तेक्वान्दो ह्यारिसवर्गका संस्थापक मास्टर नकुल शर्मा, किस्टोन तेक्वान्दोका राम अधिकारी, हिमालयन तेक्वान्दो मेकानिक्सवर्गका ओमप्रकाश विष्ट, कल्पना तिवारी लगायतका प्रशिक्षकहरुले विद्यार्थीहरुको प्रशिक्षार्थीहरुको परीक्षा लिएका थिए ।। प्रशिक्षकहरूले विद्यार्थीहरूको समर्पण र तिवारीको नेतृत्वको प्रशंसा गर्दै यो उपलब्धिलाई अमेरिकी भूमिमा नेपाली समुदायको खेलकुद इतिहासमा एक नयाँ अध्यायको रूपमा व्याख्या गरे।

त्यसैगरी कार्यक्रममा भूटानीज सोसाइटी अफ केन्टकीका उपाध्यक्ष जमुना खरेल पौडेल, नेपाली समुदायद्वारा सञ्चालित नृत्य विद्यालयकी प्रमुख चन्द्रकला भुजेल, र अन्य सामुदायिक अगुवाहरूको पनि उपस्थिति रहेको थियो। वक्ताहरूले खेलकुदको माध्यमबाट नयाँ पुस्तामा नेतृत्व, एकता र आत्मअनुशासनको विकासमा योगदान पुर्याउने तेक्वान्दोको भूमिका प्रशंसा गरे।
संस्थापक कल्पना तिवारीले अन्त्यमा भनिन्, “हिमालयन तेक्वान्दो मेरो सपना थियो—जहाँ बालबालिकाले केवल खेलकुदको सीप मात्र होइन, जीवनका मूल्य र आत्मविश्वास पनि सिकून्। आज पहिलो व्याचको सफलता त्यो यात्राको पहिलो पाना हो।”
समारोहको अन्त्यमा विद्यार्थीहरूले समूह प्रदर्शन प्रस्तुत गरेका थिए र सम्पूर्ण सहभागीहरूलाई सम्मान पत्र तथा स्मृति चिन्ह प्रदान गरिएको थियो।
प्रतिक्रिया