(निबन्ध)

मानिसले सधैँ अरुलाई सम्झन्छ । आफ्ना सन्तान सम्झेर काम गर्छ । आफूलाई सोचेर काम गर्ने थोरै हुन्छन् । अरुलाई सोचेर जीवनभर काम गर्ने मानिस अन्त्य कालमा पहुताउँछन् । जीवन गन्तव्यको सुरुआत कठिन भए पनि अन्त्य सुखद् हुनुपर्छ ।
आफू मात्र आफू हो, अरु आफू होइनन् । आफूबाहेक अरु मित्र छैन । देखावटी मित्र शृङ्गारका सामान हुन् । युवाले आफू र मित्रको भेद थाहा पाउँछन् । बालकले आफू र मित्रलाई एउटै ठान्छन् । यसैले मानिसले बालककाल र बाल्य सुखको सम्झना गरिरहन्छ । उमेरसँगै मित्रको कुटुम्बपन घट्न थाल्छ । बालककालको सुख पनि बिस्तारै घट्छ । वृद्धावस्थामा बाल्यकाल र बाल्य सुखतिर फर्कन असम्भव छ । बालककाल खुसीको बिउ फलाउने समय हो । वृक्षमा फलको सङ्ख्या बढिरहन्छ र प्रत्येक वर्ष फलिरहन्छ । बालककालबाहेकको जिन्दगीमा खुसीको मात्रा चाहिँ कम हुँदै जान्छ । वृक्षमा फल लाग्दा र फल पाक्दा सबै रमाउँछन् । पाकेका फल टिप्दाको आनन्दझैँ जीवनको अन्त्य पनि सङ्गीत र शान्तिममय हुनुपर्ने हो । उपलब्धिपूर्ण र प्राप्तिमय हुनुपर्ने हो । यसका लागि जीवन गन्तव्य बाधारहित हुनुपर्छ । जीवनको दिशा ठिकसँग चलेन भने र जीवनको विकास र सूत्र थाहा भएन भने सन्तुष्टिको मात्रा घट्छ । सफल जीवनमा खुसी र आनन्द बढ्नुपर्छ । नयाँ दिनमा नयाँ खुसी र सौभाग्य चाहिन्छ नत्र जीवनको पतन हुन्छ । पतनशील जीवनको अर्थ रहन्न । यो शिरमा नचढी झरेको फूलसरह हो ।
जीवन कला सिक्नेहरु सधैँ खुसी हुन्छन् । मानिसको जन्म सहज छ तर जीवनको जन्म सहज छैन । सफल जीवन सकारात्मक सोच र निश्वार्थ प्रयत्नबाट मात्र जन्मन्छ । जीवनको केन्द्र आफूबाहिर वा आफूभित्र हुन सक्छ र यसलाई चिन्न सक्नुपर्छ । वृक्षको जरा जमिनभित्र हुन्छ र वृक्षलाई अड्याइराख्छ । यसले प्रयत्न र प्राप्तिको सञ्चार गर्छ । प्राणीका जीवनका प्रक्रिया र रहस्य मौन, शान्त र एकान्तमा घटित हुन्छन् । हामी जागृतिलाई जीवन ठान्छौँ तर जागृतिमा मात्र जीवन हुँदैन । सफल हुन निद्रामा जीवन खोज्नुपर्छ । जीवन शक्ति पाउन थकान मेट्नुपर्छ । थकान जागृतिले होइन निद्राले मेट्छ । लामो समयको जागृतिले बिमार निम्त्याउँछ । निद्रामा विस्मृति क्षमता हुन्छ । बच्चाको आकृति आमाको पेटमा निर्माण हुन्छ । बिउ माटामा वृक्ष बन्छ । शरीरमा जीवनको काम हुन्छ । मासुको निर्माण, खुनको तयारी, जीवनको तयारी सबै जीवन हो । अँध्यारामा मौन काम हुन्छ । कामका लागि मौनता चाहिन्छ । सानो मौनताले ठुलो सिद्धि प्राप्त हुन्छ । जीवन सिद्धिका लागि सोचको शुद्धीकरण हुनुपर्छ । वृक्षभन्दा जराको मूल्य हुन्छ । हरियालीका लागि जरामा पानी हाल्नुपर्छ । जरामा रोग लागे पात पहेँलिन्छ । मानिसको निराशा पात पहेँलिनु सरह हो, यसको जरामा उपचार गर्नुपर्छ ।
मन अदृश्य र अमूर्त छ । मानिसको सोच मनभित्र निर्माण हुन्छ । आफूभित्र प्रेम, विचार, आशा, वैराग्य आदिको जन्म हुन्छ । बालकलाई लिइने शिक्षाबाट समाज, संस्कृति बाहिरबाट भित्र घुसाउने प्रयास गरिन्छ । यसले मानिसलाई जीवनको मूलमा पुर्याउन सक्दैन । जीविका, घर, सम्पत्ति प्राप्त हुन सक्छ तर अन्तज्र्ञानको शान्ति प्राप्त हुँदैन । आफूभित्रको जड विचारसँग नजोडिने शिक्षा कामयावी हुँदैन । यसले जरामा पोषण पुर्याउन सक्छ तर जरा बनाउन सक्दैन ।
मानिस आशामा बाँच्छ, हराउँछ तर आशामा आफूलाई विलुप्त पार्नु हुँदैन । हामी अरुको आवाज सुन्छौँ तर आफ्नो आवाज सुन्दैनौँ । जीवनको जरो पहिल्याउन आफ्नै आवाज सुन्नुपर्छ । आफ्नो आवाज सुन्न नसक्दा एक बाबु सन्तानको आवाज सुनेर अन्त्य हुन्छ । एक आमा सन्तानको आशामा आफूलाई अन्त्य गर्छिन् । सपनाको डोरी अरुसँग बाँधिन्छ । पीडाको अनुभव एकान्तमा हुन्छ । पारिवारिक मोहले एकान्तलाई अपहरण गर्छ । सन्तानको सोचले आफ्नो सोचलाई दबाबमा पार्छ । मानिसले अरुका लागि सोच्न छाडेर आफ्नो अन्तर्हृदयमा पस्न सके संसारका धेरै सम्भावना देखिन्छन् । बाहिरका साथी हजारौँ भएर पनि मानिस आन्तरिक रूपमा एक्लो हुन सक्छ । ऊ एक्लो जन्मिएर एक्लै अन्त्य हुन्छ । अरुलाई सताउनु हिंसाा हो भने आफूलाई सताउनु पनि शान्ति होइन । बलियाले अर्कालाई हेप्छ । कमजोरले आफैँलाई हेप्छ । कमजोर आत्मह्रिंसक हुन्छ, बलवान् परपीडक हुन्छ । आफ्नो चैतन्यले मात्र आफूलाई साथ दिन्छ । छाया सधैँ आफूसँग हुन्छ, अरु कोही हुँदैनन् । ऐनाले मात्र आफू रुँदा आँसु झार्छ, अरु कसैले दुःखमा भित्री आँसु झार्दैनन् । अरु सब स्वार्थी हुन्छन्, सुखमा हाँस्छन्, दुःखमा भाग्छन् । आफ्नो चेतना मात्र आफ्नो सम्पत्ति हो । चेतना जीवन हो । अचेतनले चेतनालाई विशृङ्खलित बनाउँछ । हजारौँ शब्दको पढाइभित्र एक शब्दको चेतना प्रबल हुन्छ । तर्कशक्ति विश्वासिलो हुन्छ । शास्त्रको संज्ञान वास्तविक नहुन सक्छ । हावाको सौन्दय आँखाले देख्दैन । आँखाको स्वाद जिब्रामा हुँदैन । मनमा गढेको सोचलाई कसैले हटाउन सक्दैन । अरुको विचारको सम्मोहन सधैँ अनुकूल हुँदैन । बहोसीमा पनि श्वासक्रिया निरन्तर रहन्छ तर खाद्य प्रणलीले काम गर्दैन । चिकित्सक अर्काको रोगमा रमाउँछ तर आफ्नो रोगमा चिन्तित हुन्छ । लास पोल्ने मानिस अरु मर्दा खुसी हुन्छ र अरुको दीर्घायुमा चिन्तित हुन्छ ।
मानिसले आफूलाई भुल्दा सुख ठान्छ । चलचित्रमा छाया हेरेर रमाउँछ । सन्तानको च्यार्र आवाज सुनेर आफ्नो जीवनको चित्कार भुल्छ । बिरुवा बन्न बिउ मर्नुपरेझैँ सुख देख्न दुःख भुल्नुपर्छ । बिउभित्र रुख छ भन्ने बुझ्नुपर्छ । निर्माणको पछि विनाश छ भन्ने बुझ्नुपर्छ । फर्निचर बनाउन रुखको काठ काट्नुपर्छ । फर्निचर रोपेर रुख उम्रँदैन । सधैँ हामीले गर्न चाहे जस्तो काम बन्दैन । यति फलाउँछु भन्ने कल्पनामा फल फल्दैन । गन्तव्य नदेखिएको वा नपुगिएको सम्भावना हो । सचेत प्रयत्नबिना गन्तव्यमा पुग्न सकिँदैन । वृक्षले झुट प्रतिक्रिया दिँदैन । आँपको बोटले आँप नै दिन्छ । मानिस सत्यलाई लुकाउँछ । सत्यको बिउलाई असत्यको काया दिन्छ र त्यसैलाई मिठास ठान्छ । झुटो मिठास भन्दा अमिलो सत्य सही हुन्छ । तितो औषधीले रोग निको पार्छ, मिठो चिनीले रोग निम्त्याउँछ । सोचेको कुरा बोलिएन भने त्यसले जीवनलाई रोगी बनाउँछ । रोगी जीवन बाँच्नु जैविक भार मात्र हो ।
आँखाले हेरेको निशाना सधैँ सही हुन्छ भन्ने छैन । आँखा चिम्लँदा पनि कुनै न कुनै निशाना लाग्छ । बिग्रेको घडीले पनि दिनमा दुई पटक सही समय दिन्छ । आफ्नो अनुभव र ज्ञान सही हो भन्ने सोच पनि सही होइन । विवेकको कसी मात्र सही हुन्छ । स्वविवेक आफ्ना लागि शान्तिकारक हुन्छ । शान्ति जीवन गन्तव्यको एक चौतारो हो । जीवन अनिवार्य गन्तव्य हो । शान्ति र सन्तुष्टि जीवन साधन हुन् । म सार्थक जीवन बाँच्न चाहन्छु ।
प्रतिक्रिया