क्यानाडामा हुने ४२ औं एएनए नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा डा.स्वर्णिम वाग्ले प्रमुख अतिथि

इनेप्लिज २०८२ साउन ३० गते ०:०१ मा प्रकाशित

अमेरिका,क्यानडा साथै दक्षिण अमेरिकी मुलुकहरुमा बसोबास गर्ने नेपाली र नेपालीभाषी समुदायहरुलाई प्रतिनिधित्व गर्ने एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (एएनए ) ले क्यानाडामा आयोजना गर्ने ४२ औं एएनए नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा डा.स्वर्णिम वाग्ले प्रमुख अतिथि हुने भएका छन् ।

आगामी अगस्त २२-२४ सम्म हुने एएनए नेपाली अन्तर्राष्ट्रिय सम्मेलन अगाडी आउने भएको जानकारी एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले ईनेप्लिजलाई बताए । यो वर्ष एएनएले ४२ औं एएनए अन्तर्राष्ट्रिय नेपाली सम्मेलन क्यानडाको अत्यन्तै रमणीय क्षेत्र क्यालगरीमा ३७ बर्ष पछि आयोजना गर्दैछ।

सम्मेलनलाई सफल बनाउन २६ वटा समितिहरु रहेका छन् । अब १० दिन भन्दा पनि कम समय भएकोले समितिहरु अहोरात्र खटेर भब्य तयारीको साथ अगाडी बढि रहेको अध्यक्ष अधिकारीले ईनेप्लिजलाई बताए ।

डा.स्वर्णिम वाग्ले क्यानडामा आउने पुष्टी भए पछि माहौल पुरै परिवर्तन हुनुको साथै अमेरिकाज क्षेत्रका मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुअत्यधिक खुसी भएका छन् । स्वयम् सेवकहरुमा एक प्रकारको उत्प्रेरणाको रक्तसंचार वृद्धि भएको छ। समितिहरु उत्प्रेरित हुनुको साथै डा. वाग्लेको लागि भब्य स्वागतको लागि तयारीमा रहेका छन् ।

एएनएका अध्यक्ष खगेन्द्र अधिकारी स्वयम डा.स्वर्णिम वाग्ले आउने पक्का भए पछि निकै गर्व महसुस भएको बताए । अध्यक्ष अधिकारीले डा. वाग्ले जस्ता बौद्धिक व्यक्तित्वका धनि र नीति निर्माणमा जिम्मेवार पदमा रहेका व्यक्तित्व एएनए नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा आउने खबरले हामी सबैको साथै उत्तर अमेरिका स्थित नेपाली समुदायहरु उत्साहित र उत्प्रेरित भएको बताए ।

यसै गरि सम्मेलन संयोजक कमल भट्टराई डा.वाग्लेको खबर सुन्नासाथ अत्यधिक उत्साहित भएको भन्दै क्यानडाको लागि यो ठूलो अवसर हो भने । यता अध्यक्ष अधिकारीले एएनए संस्थाको तर्फ,व्यक्तिगत तर्फ र सम्मेलनको तर्फबाट डा. वाग्लेलाई भब्य स्वागत गरिने जनाए ।

आयोजकका अनुसार क्यानडाका लागि नेपाली राजदूत महामहिम भरतराज पौड्याल, संघीय तथा प्रान्तीय सांसदहरू, उत्तर अमेरिका र विश्वभरका अतिथिहरू, र स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा यो सम्मेलन ऐतिहासिक बन्ने अपेक्षा छ। एएनएका उपाध्यक्ष तथा सम्मेलनका संरक्षक सन्तोष दाहालले पनि डा.वाग्लेको आगमन हुने खबरले गर्व भएको बताए।

मिति: अगस्त २२–२४, २०२५ (शुक्रबार–आइतबार)
स्थान: ग्लेनमोर होटल एण्ड कनभेन्सन सेन्टर, क्यालगरी, क्यानडा

डा. स्वर्णिम वाग्लेको परिचय :

डा. स्वर्णिम वाग्ले दक्षिण एसियाका एक प्रसिद्ध अर्थशास्त्री र २०२३ अप्रिल देखि नेपालका संघीय सांसद हुन्। उनले तनहुँ–१ बाट उपनिर्वाचनमा जित हासिल गरेका हुन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष पनि हुन्।

डा. वाग्लेले यसअघि २०१७ अगस्ट देखि २०१८ फेब्रुअरी सम्म राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। साथै, उनी २०१४ –२०१५ र २०१६–२०१७ मा दुई कार्यकाल सदस्य पनि रहे। २०१५ को भूकम्पपछि पुनर्निर्माणमा उनी महत्वपूर्ण नीतिगत नेतृत्वकर्ताका रूपमा ख्याति कमाएका थिए।

२०२० देखि २०२२ सम्म, कोभिड–१९ महामारीको समयमा, उनी संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम एशिया–प्रशान्त क्षेत्रीय ब्यूरोमा प्रमुख आर्थिक सल्लाहकारको रूपमा कार्यरत रहे, जहाँ उनले ३६ देशको आर्थिक नीति सल्लाहमा नेतृत्व गरे। यस क्रममा उनले श्रीलंकाजस्ता संकटग्रस्त देशहरूमा उच्चस्तरीय नीति सल्लाह मिशनको नेतृत्व पनि गरे।

अन्तर्राष्ट्रिय स्तरमा, उनी संयुक्त राष्ट्रसंघ, विश्व बैंकजस्ता संस्थामा आर्थिक नीति विज्ञका रूपमा १९९७ देखि २०२२ सम्म विभिन्न अवधिमा काम गरिसकेका छन्। २०१९ अक्टोबरमा उनी इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीज (IIDS) का अध्यक्ष बने, जुन १९७९ मा काठमाडौंमा स्थापित दक्षिण एसियाली नीति अनुसन्धान संस्थान हो।

उनले लन्डन स्कुल अफ इकोनोमिक्स ( लन्डन अर्थशास्त्र बिद्यालय), हार्भर्ड विश्वविद्यालय, र अस्ट्रेलियन नेशनल युनिभर्सिटी ( अष्ट्रेलिया राष्ट्रिय बिश्वबिद्यालय) बाट उच्च शैक्षिक डिग्री हासिल गरेका छन्।

डा. वाग्ले केवल अर्थशास्त्री मात्र होइनन्, उनि नीतिगत सुधार, आर्थिक सशक्तिकरण, र राष्ट्रिय हितका लागि काम गर्ने बौद्धिक व्यक्तित्व भएका बहुआयामीक र प्रतिभाशाली नेता हुन्।

प्रतिक्रिया